काठमाडौं । सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन शाहलाई ज्यान मार्ने धम्की दिएको आरोपमा एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा झापाको भद्रपुर–९ स्थायी घर भई हाल काठमाडौंको कीर्तिपुरमा बस्दै आएका २३ वर्षीय पुस्कर दहाल रहेका छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कीर्तिपुर नयाँ बजारबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार दहालले आफ्नो इन्स्टाग्राम अकाउन्टमा प्रधानमन्त्री शाहलाई लक्षित गर्दै आगामी २३ भदौमा ‘सिध्याइदिने’ आशयको स्टाटस लेखेका थिए। उक्त पोस्टमा उनले प्रहरीलाई समेत ट्याग गर्नुका साथै प्रहरीप्रति अपशब्द प्रयोग गरेको बताइएको छ।
पक्राउपछि दहाललाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि साइबर ब्यूरो, भोटाहिटी पठाइएको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार दहाल कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीमा आबद्ध रहेको बताइएको छ। प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएका अभिव्यक्ति, धम्कीको प्रकृति तथा घटनासँग सम्बन्धित अन्य विषयमा अनुसन्धान अघि बढाएको छ।












