काठमाडौं । आज्ञ बिहानपख सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ । राती २ बजेर ५१ मिनेटमा गएको भूकम्पको तीव्रता ६.१ म्याग्निच्युड मापन गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले भुकम्पबाट मानवीय क्षति भएको सूचना प्राप्त नभएको जानकारी दिए । जिल्ला कारागार कार्यालयमा दुई बन्दी भाग्ने क्रममा घाइते भएको उनले जानकारी दिए । भूकम्प आएका बेला भाग्ने क्रममा लडेर कैदी स्याङ्बो तामाङको हात भाँचिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण थापाले जानकारी दिए ।

उनको जिल्ला अस्पतालमा उपचार भइसकेको छ । उनलाई कारागार नै फर्काइसकिएको छ । अन्य क्षति भएको भने जानकारीमा नआएको र सुरक्षा संयन्त्रहरूलाई विवरण संकलन गर्न भनिएको उनले बताए । यस्तै भूकम्पका कारण सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–३ तुसारेस्थित दुगुनागढीमा सुक्खा पहिलो खसेको सीडीओ थापाले बताए ।

सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर प्रसाद यादवले पनि क्षति भएको विवरण नआएको र बुझ्नका लागि प्रहरी परिचालन गरिएको बताएका छन् । ‘मानिसहरू रातिको समयमा घरबाहिर निस्किएको भन्नेसम्म छ । क्षति भएको भन्ने आएको छैन,’ उनले भने ।

भोटेकोशी गाउँपालिका–२ की वडासदस्य सुनिता श्रेष्ठले भूकम्प गएपछि मानिसहरू बाहिर निस्किएको जानकारी दिएकी छन् । तर मानवीय र भौतिक क्षति भएको भन्ने जानकारीमा नआएको बताइन् । ‘राति पनि भयो । मानिसहरू घर बाहिर चाहीँ निस्कनु भएको थियो । घरहरू ढलेको, मानवीय क्षति भएको विवरण आएको छैन । गढीमा पर्खाल भत्किएको भन्ने छ । हामी पनि बुझ्दै पनि छौं,’ उनले सुनाइन् । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको थियो ।

२०७२ सालको वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर आएको भूकम्पमा ९ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो भने लाखौं घर र भौतिक संरचनामा क्षति पुगेको थियो । त्यतिबेला सबैभन्दा बढी क्षति सिन्धुपाल्चोकमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0