शिवसताक्षी । झापाको शिवसताक्षीमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि धमाधम निवेदन लिने काम भइरहेको छ । गएको फागुन १ गतेदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम २०८२ का लागि नगरका ११ वटै वडामा निवेदन लिने काम भइरहेको शिवसताक्षी नगरपालिका रोजगार सेवा केन्द्रले जनाएको छ ।
रोजगार सेवा केन्द्रले एक सूचना जारी गर्दै न्यूनतम रोजगारमा संलग्न भई सामुदायिक विकास निर्माणका काममा योगदान दिन इच्छुक नागरिकले सम्बन्धित वडा कार्यालयमा निवेदन दिई सूचीकरण हुन आग्रह गरेको छ ।
निवेदन दिनका लागि नागरिकताको प्रतिलिपि, तस्वीर, कुनै सिपमूलक तालिम लिएको भए त्यसको प्रमाणपत्र, एकल महिला वा अपाङ्गताको प्रमाण खुल्ने कागजात अनिवार्य गरिएको रोजगार संयोजक विदुर तिम्सिनाले जानकारी दिए ।
न्युनतम रोजगारी सरकारले तोकेको दैनिक ६ सयका दरले प्रदान गरिने प्रावधान रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । न्युनतम रोजगारीमा काम गर्ने कामदरले काम मात्र नभएर सीप समेत सिक्ने समेत अवसर प्राप्त गर्ने, रोजगार दाताहरुले कामदार खोजेको खण्डमा सम्पर्क गराइदिने काम गर्दै आएको रोजगार संयोजक तिम्सिनाले बताए ।
यता शिवसताक्षी नगरपालिको न्युनतम रोजगारीसँग सँगै आन्तरिक रोजगारी खोजी कर्ता, वैदेशिक रोजगारीबाट नेपाल फर्केर नेपालमा केही गर्न चाहाने व्यक्तिहरुले नगरपालिकाको रोजगार सेवा केन्द्र सूचिकण गर्न अनुरोध गरिएको छ । नगरपालिको रोजगार सेवा केन्द्रले आगामी वर्षको लागि नीति तथा कार्यक्रममा आन्तरिक रोजगार सम्बन्धी रणनीति बनाउनका लागि नगरको रोजगार सेवाकेन्द्र सूचिकरण गर्न अनुरोध गरेको छ।
चालु वर्षमा प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिवसताक्षी नगरपालिकालको रोजगार सेवा केन्द्रको साझादारीमा रोजगार नक्साङकन गर्ने काम गरिने संयोजक तिम्सिनाले बताए । जसले शिवसताक्षी नगर भित्र भएका रोजगार दाता, वैदेशिक रोजगारीमा गएका व्यक्ती, रोजगार खोजी कर्ता ( वेरोजगार व्यक्ती)हरुको विस्तृत तथ्यांक संकलन गर्नेछ । आगामी वर्षहरुका नगरको नीति तथा कार्यक्रममा समावेश गरी रोजगारीको क्षेत्रमा योजना निर्माण गर्ने लक्ष्य लिएको शिवसताक्षी नगरपालिका रोजगार सेवा केन्द्रले जनाएको छ ।












