झापा । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको सरगर्मी बढेसँगै पार्टीको केन्द्रीय नेतृत्वमा पुग्न युवा नेताहरूको आकांक्षा पनि बढ्न थालेको छ। यही क्रममा झापाका युवा नेता निरोज दुलालले ३५ वर्षमुनिको क्लस्टरबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।

नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट पार्टी राजनीतिमा स्थापित भएका दुलालको सम्भावित उम्मेदवारीलाई कोशी प्रदेशको कांग्रेस वृत्तमा चासोका साथ हेरिएको छ। युवा पुस्ताको प्रतिनिधित्व र पार्टीभित्र नेतृत्व पुस्तान्तरणको बहस चलिरहेका बेला उनको उम्मेदवारीले थप चर्चा पाएको हो।

दुलाल आफ्नो क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका थिए। त्यसपछि महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा समेत उनी भारी मतसहित विजयी भएका हुन्। महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताले उनलाई केन्द्रीय सदस्यमा उम्मेदवारी दिन सुझाव दिएका थिए।

व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका दुलाल विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय थिए। तत्कालीन नेपाल विद्यार्थी सङ्घको समानान्तर समितिमा उनले झापा उपसभापतिको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि पार्टी राजनीतिमा सक्रिय हुँदै नेपाली कांग्रेस झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रदेश ‘क’को निर्वाचित सचिवसमेत बने।

स्थानीय राजनीतिमा समेत सक्रिय रहेका दुलालले शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। हाल उनी शिवसताक्षीको दुधे बजारमा हार्डवेयर व्यवसाय सञ्चालन गर्दै आएका छन्। व्यवसायसँगै पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै आएका उनले युवा पुस्तालाई पार्टीको नेतृत्व तहमा स्थापित गर्नुपर्ने धारणा राख्दै आएका छन्।

दुलालले आफ्नो उम्मेदवारी पार्टीलाई बदलिँदो समय र आवश्यकताअनुसार अघि बढाउने उद्देश्यसँग जोडिएको बताएका छन्। युवा पुस्ताको सहभागिता बढाउने, संगठनलाई थप गतिशील बनाउने र नयाँ पुस्ताका विचार तथा आवाजलाई पार्टीको केन्द्रीय तहसम्म पुर्‍याउने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंको खुलामञ्चमा सुरु हुँदैछ। असोज २२ गतेसम्म सञ्चालन हुने महाधिवेशनमा देशभर तथा विदेशस्थित जनसम्पर्क समितिबाट सात हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहने जनाइएको छ। महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक निमन्त्रणा दिएको छ भने अन्य राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरिएको छ।

महाधिवेशनमा युवा पुस्ताको प्रतिनिधित्वका लागि ३५ वर्षमुनिको क्लस्टरबाट आकांक्षीहरू बढिरहेका बेला दुलालको उम्मेदवारीले कस्तो परिणाम ल्याउँछ भन्ने चासो बढेको छ। विद्यार्थी राजनीतिदेखि पार्टी संगठनसम्मको अनुभव र महाधिवेशन प्रतिनिधिमा प्राप्त समर्थन उनका लागि कति प्रभावकारी बन्नेछ भन्ने कुरा भने महाधिवेशनको निर्वाचन परिणामले नै तय गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0