शिवसताक्षी । शिवसताक्षी नगरपालिका–८, दूधेमा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडले २१औँ वार्षिक साधारण सभाअन्तर्गत माइन्युट प्रमाणीकरण तथा अध्यक्ष चयन कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाले असोज १५ गते बोलोचोकस्थित जनता डेरी र असोज १७ गते श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालय, दूधेमा इकाइगत साधारण सभा सम्पन्न गरेपछि सोमबार संस्थाको कार्यालय दूधेमा माइन्युट प्रमाणीकरण साधारण सभा सम्पन्न गरेको हो।

साधारण सभाले संस्थाको रिक्त अध्यक्ष पदमा पूर्व कोषाध्यक्ष निलकृष्ण खरेललाई सर्वसम्मत चयन गरेको छ। यसअघि संस्थाका अध्यक्ष विष्णुलाल भट्टराईले घरायसी कारण देखाउँदै संस्थालाई पर्याप्त समय दिन नसक्ने भन्दै पदबाट राजीनामा दिएका थिए। साधारण सभाले भट्टराईको राजीनामा स्वीकृत गर्दै खरेललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

निर्वाचन संयोजक तथा शिवसताक्षी नगरपालिका सहकारी शाखा प्रमुख शुलभ दाहालका अनुसार अध्यक्ष पदका लागि खरेलको मात्रै उम्मेदवारी परेकाले निर्वाचनका सम्पूर्ण प्रक्रिया पूरा गरी उनलाई सर्वसम्मत अध्यक्ष घोषणा गरिएको हो। अध्यक्षमा चयन भएपछि खरेललाई पद तथा गोपनीयताको शपथसमेत गराइएको थियो।

यसअघि अध्यक्ष पद रिक्त भएपछि संस्थाका उपाध्यक्ष यादव गिरीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए।

संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा सहकारीको कुल वासलात १९ करोड ७० लाख ४५ हजार ६५६ रुपैयाँ पुगेको छ। सो अवधिमा संस्थाले १६ करोड ३ लाख ७२ हजार ७८१ रुपैयाँ बचत संकलन गरी १४ करोड ८२ लाख ६५ हजार १०६ रुपैयाँ लगानी गरेको छ।

चालु आर्थिक वर्षमा संस्थाले वासलात २० करोड ६८ लाख रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको व्यवस्थापक पोख्रेलले जानकारी दिनुभयो।

कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष यादव गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0