बिर्तामोड । आज बिहान १० बजेको हाराहारीदेखि सुरु भएको बिर्तामोड–४ अन्नपूर्ण टोलस्थित फर्निचर उद्योगमा भएको आगलागी दिउँसो १ बजे पूर्णरूपमा नियन्त्रणमा लिइएको छ। आगलागीबाट दुईवटा फर्निचर उद्योग जलेका छन् भने शोरुमहरु क्षतिग्रस्त भए ।
बिर्तामोड, भद्रपुर, मेचीनगर, शिवसताक्षी, कमल र गौरादहका दमकलको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, बिर्तामोड नगर प्रहरी, स्थानीय बासिन्दाहरुको अग्रसरतामा आगो नियन्त्रणमा लिइएको प्रत्यक्षदर्शीले बताएका छन् ।

हर्कजङ्ग सुब्बाले सञ्चालन गरेको देवी उडन एन्ड स्टील फर्निचर उद्योग जलेर पूर्णरूपमा ध्वस्त भएको छ। त्यस्तै, सोही घरसँग जोडिएको कृष्णकुमारी राईको घरमा दिव्याश्री अग्रवालले सञ्चालन गरेको जय माँ ट्रेड फर्निचरको उद्योग आगलागीबाट पूर्णरूपमा क्षति भएको छ।

आगलागीका कारण दुईवटै फर्निचर उद्योगबाट उत्पादित सामग्रीहरु जलेका छन् भने शोरुममा राखिएका सामग्रीहरुमा आंशिक क्षति भएको छ । स्थानीय बासिन्दाका दुईवटा घरमा समेत आगोको रापले क्षति पुगेको तथा सन्दीप ग्रिल उद्योगमा पनि क्षति पुगेको विवरण प्रहरीले संकलन गरेको जनाइएको छ।
आगलागीबाट मानवीय मृत्यु भने भएको छैन । आगलागी भइरहेको नजिक घरभित्रबाट सामान जोगाउन बाहिर निकाल्ने क्रममा अर्जुनधारा नगरपालिका–३ का अन्दाजी ३९ वर्षीय तिलबहादुर रम्तेल तलामाथिबाट हामफाल्दा दाहिने खुट्टामा गम्भीर चोट लागेको छ। उनको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको र अवस्था खतराभन्दा बाहिर रहेको प्रहरीले जनाएको छ।

आगलागीको कारण तत्काल खुल्न सकेको छैन। विद्युत् सर्ट भएका कारण आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि यसको पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ। आगलागीबाट भएको क्षतिको विवरणसमेत संकलन भइरहेको प्रहरीले जनाएको छ।













