शिवसताक्षी । मेची इङ्लिस बोर्डिङ स्कुलको स्वर्ण जयन्ती वर्ष २०८३ को अवसरमा आयोजित दुईदिने अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगितामा शिवसताक्षीका चार विद्यालय सेमिफाइनलमा प्रवेश गरेका छन्।

शिवसताक्षी नगरपालिका–१० माइधारस्थित मेची इङ्लिस बोर्डिङ स्कुलको खेल मैदानमा शनिबार सम्पन्न खेलबाट आयोजक मेची इङ्लिस बोर्डिङ स्कुल, धरमपुर प्रज्ञा पाठशाला, ध्रुवतारा माध्यमिक विद्यालय र विद्योदय माध्यमिक विद्यालयले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन्।

प्रतियोगितामा नगर क्षेत्रका आठ विद्यालयले उत्साहजनक सहभागिता जनाएका थिए। सहभागी विद्यालयहरूमा मेची इङ्लिस बोर्डिङ स्कुल, सेभेन सिज इङ्लिस स्कुल, धरमपुर प्रज्ञा पाठशाला, ध्रुवतारा माध्यमिक विद्यालय, रेडरोज माध्यमिक विद्यालय, विद्योदय माध्यमिक विद्यालय, ग्लोबल एजुकेयर स्कुल र श्री नवकिरण स्कुल रहेका छन्।

आइतबार हुने पहिलो सेमिफाइनल खेलमा आयोजक मेची इङ्लिस बोर्डिङ स्कुल र धरमपुर प्रज्ञा पाठशालाबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, दोस्रो सेमिफाइनलमा ध्रुवतारा माध्यमिक विद्यालय र विद्योदय माध्यमिक विद्यालय आमनेसामने हुने आयोजक विद्यालयका प्रिन्सिपल पदम कुँवरले जानकारी दिनुभयो।

प्रतियोगिताको विजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। यसका साथै विभिन्न विधागत उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

विद्यालयको स्वर्ण जयन्ती वर्षको अवसरमा आयोजित प्रतियोगिताले शिक्षकहरूबीच आपसी सद्भाव, मित्रता, सहकार्य र खेलभावनाको विकास गर्नुका साथै विद्यालयहरूबीचको सम्बन्धलाई थप सुमधुर बनाउने अपेक्षा आयोजकले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0