शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–१० माइधारस्थित मेची इङ्लिस बोर्डिङ स्कुलको स्वर्ण जयन्ती वर्ष २०८३ को अवसरमा आयोजित अन्तरविद्यालय शिक्षक भलिबल प्रतियोगिताको उपाधि विद्योदय इङ्लिस बोर्डिङ स्कुलले जितेको छ।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आयोजक मेची इङ्लिस बोर्डिङ स्कुललाई पराजित गर्दै विद्योदयले उपाधि जितेको हो। उपाधिसँगै विजेता विद्योदयले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
उपविजेता आयोजक मेची इङ्लिस बोर्डिङ स्कुलले नगद ५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ। विजेता तथा उपविजेता टिमलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले पुरस्कार राशी सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि पुरस्कृत गरिएको छ। मेची इङ्लिस बोर्डिङ स्कुलका मुस्कामहाङ लिम्बु उत्कृष्ट स्पाइकर, गोपाल मैनाली उत्कृष्ट डिफेन्डर र कमल भट्टराई उत्कृष्ट सेटर घोषित भए। यस्तै, विद्योदय इङ्लिस बोर्डिङ स्कुलका सुजन पाठक उत्कृष्ट ब्लकर घोषित भए।
प्रतियोगितामा शिवसताक्षी नगर क्षेत्रका आठ विद्यालयले सहभागिता जनाएका थिए। सहभागी विद्यालयहरूमा मेची इङ्लिस बोर्डिङ स्कुल, सेभेन सिज इङ्लिस स्कुल, धरमपुर प्रज्ञा पाठशाला, ध्रुवतारा माध्यमिक विद्यालय, रेडरोज माध्यमिक विद्यालय, विद्योदय माध्यमिक विद्यालय, ग्लोबल एजुकेयर स्कुल र श्री नवकिरण स्कुल रहेका थिए।
विद्यालयको स्वर्ण जयन्ती वर्षको अवसरमा आयोजित प्रतियोगिताले शिक्षकहरूबीच आपसी सद्भाव, मित्रता, सहकार्य र खेलभावनाको विकास गर्नुका साथै विद्यालयहरूबीचको सम्बन्धलाई थप सुमधुर बनाउन सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ।












