कनकाई । झापाको कनकाई नगरपालिकामा आयोजित झापा जिल्ला अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधि आयोजक कनकाई नगरपालिकाले जितेको छ । फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई ४–१ गोलअन्तरले पराजित गर्दै कनकाईले उपाधि उचालेको हो ।

उपाधिसँगै कनकाई नगरपालिकाले नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको शिवसताक्षी नगरपालिकाले ७५ हजार रुपैयाँमा चित्त बुझाएको छ । दुवै टोलीले नगद पुरस्कारसँगै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

फाइनल खेलमा कनकाईका विशाल थेवे र अंकित राईले समान २–२ गोल गरे । शिवसताक्षीका सचिन श्रेष्ठले आफ्नो टोलीका लागि एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका कनकाईका विशाल थेवे ‘म्यान अफ द म्याच’ घोषित भए । प्रतियोगितामा रुजन लिम्बु हाइस्कोरर घोषित हुँदा लक्ष्मण भुजेल उत्कृष्ट डिफेन्डर बने । त्यस्तै, शिवसताक्षीका श्रवण मल्लिक उत्कृष्ट मिडफिल्डर, कनकाईका ज्ञानेन्द्र निरौला उत्कृष्ट गोलकिपर र कनकाईकै लिलु गिरी उत्कृष्ट प्रशिक्षक घोषित भए । रुचन लिम्बु प्रतियोगिताको उत्कृष्ट खेलाडी (टुर्नामेन्ट एमभीपी) घोषित भए । विधागत रूपमा उत्कृष्ट घोषित खेलाडी तथा प्रशिक्षकले नगद पुरस्कारसहित ट्रफी प्राप्त गरे ।

झापाका १४ वटा पालिकाको सहभागिता रहेको प्रतियोगिताले स्थानीय तहमा कार्यरत कर्मचारीबीच आपसी सद्भाव, भाइचारा र खेलकुदप्रतिको आकर्षण बढाउन सहयोग पुर्‍याएको छ ।

विजेता तथा उपविजेता टोलीका खेलाडीलाई कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल, शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्रा, कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंकज भुर्तेललगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा झापा १४ पालिकाले सहभागिता जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0