साप्ताहिक स्तम्भ “बोल्दै बदलिँदै”
इन्टरभ्युमा पहिलो प्रश्न के आउँछ भन्ने अब लगभग सबैलाई थाहा छ। “आफ्नोबारेमा केही भन्नुस् त।” युट्युबमा यसैका बारेमा कति भिडियो छन् कति, अघिल्लो वर्ष इन्टरभ्यु दिएका साथीले पनि भनिदिएकै हुन्छन्। परीक्षामा पहिलो प्रश्न यसरी पहिल्यै थाहा भइदिएको भए हामी त खुसीले नाच्थ्यौं होला। तर इन्टरभ्युमा चाहिँ थाहा भएकै त्यो प्रश्नले हामी धेरैलाई अड्काइदिन्छ।
अड्किएन भने पनि उत्तर प्रायः उस्तै आउँछ। नाम, घर कहाँ, परिवारमा कति जना, बुबा के गर्नुहुन्छ, एसईई कुन स्कुलबाट दिएको, प्लस टु कहाँ पढेको। अलि ध्यान दिएर सुन्नुभयो भने यो कक्षा तीन-चारमा घोकेको “My Family” निबन्धकै अलि ठूलो संस्करण हो। टेबलपारि बसेका दुई-तीन जनाको अगाडि तपाईंको फाइल खुला छ, त्यसमा यो सबै लेखिएकै छ। उहाँहरू पाना पल्टाउँदै “अँ, अँ” गरिरहनुभएको हुन्छ, सायद मनमनै अझै कति जना बाँकी छन् भनेर पनि गन्दै हुनुहुन्छ होला।
त्यसपछि आउँछ, “तपाईंलाई नै किन छान्ने?” अनि जवाफ दिन्छौँ, “म मेहनती छु, सिक्ने इच्छा छ।” यसमा मेरो कुनै आपत्ति छैन, तपाईं साँच्चै मेहनती हुनुहोला। समस्या के हो भने बिहानदेखि त्यो कोठामा पस्ने धेरैले यही भनेका छन्।
रमाइलो कुरा त कोठाबाहिर हुन्छ। सिँढी झर्दै गर्दा साथीको फोन आउँछ, कस्तो भयो भनेर। त्यसबेला चाहिँ बोली फुर्छ। उसले यो सोध्यो, मैले यसो भनिदिएको भए हुन्थ्यो, कलेजको त्यो कार्यक्रम त मैले नै सम्हालेको थिएँ नि, किन याद आएन! गत साता चिया पसलमा गफिने जुन मान्छेको कुरा गरेको थिएँ, ऊ यहाँ पनि आइपुग्छ, कोठाबाट निस्केपछि।
यसमा युवालाई मात्र दोष दिन मलाई मन लाग्दैन। आफैं सम्झनुहोस् त, बाह्र कक्षा पढ्दासम्म कक्षाको अगाडि उभिएर आफ्नै विचार दुई मिनेट बोल्ने मौका कतिपटक पाउनुभयो? शिक्षकले प्रश्न सोध्थे, उभिन्थ्यौं, किताबमा जे छ त्यही भन्थ्यौं, बस्थ्यौं। परीक्षामा तीन घण्टा लेख्ने अभ्यास भने बाह्र वर्षसम्म चल्यो। यसरी हुर्केको मान्छेलाई एक्कासि “तपाईंको विचारमा के हो?” भनेर सोध्दा दिमाग खाली नभएर के हुन्छ ?
पढाइ चाहिँदैन भन्ने मान्छे म होइन। अंक राम्रो भएन भने धेरै ठाउँमा आवेदन दिने बाटो नै बन्द हुन्छ, त्यो त सबैलाई थाहा छ। म भन्न खोजेको अलि सानो कुरा हो। जागिर दिनेले अंक हेरिसकेपछि बुझ्न खोज्ने कुरा अर्कै हुन्छ, भोलि ग्राहक रिसाएर आयो भने यो केटा वा केटीले कसरी कुरा गर्ला, हाकिमले सोध्दा आफ्नो काम बुझाउन सक्ला कि नसक्ला। त्यो कुरा मार्कसिटमा हुँदैन, त्यसैले बोलाएर सोधेको हो।
युवाहरूबाट म अर्को एउटा वाक्य धेरै सुन्छु, “सर, मेरो अंग्रेजी कमजोर छ, त्यसैले बोल्न सक्दिनँ।” अंग्रेजी चाहिने ठाउँमा चाहिन्छ, त्यसमा दुईमत छैन। तर त्यस्तो बेला म उहाँहरूलाई नेपालीमै भन्न लगाउँछु, आफूले गरेको कुनै राम्रो कामबारे दुई मिनेट। धेरैको कुरा नेपालीमा पनि त्यहीँ अड्किन्छ, जहाँ अंग्रेजीमा अड्किन्थ्यो। अंग्रेजी सिक्न छोड्नु भनेको होइन, तर आधा समस्या भाषाको रहेनछ भन्ने थाहा पाएपछि काम अलि सजिलो हुन्छ।
टिकटकमा फरर बोल्ने आजका केटाकेटीलाई यो समस्या छैन होला भन्ने पनि सुनिन्छ। त्यहाँ त चित्त नबुझे दस पटक खिच्न पाइन्छ नि। टेबलपारि बसेका मान्छेको अगाडि त्यो सुविधा कहाँ पाइन्छ?
अब काम लाग्ने कुरा। “आफ्नोबारेमा भन्नुस्” का लागि मेरो सानो सुझाव छ। अहिले के गर्दै हुनुहुन्छ, त्यसअघि के गर्नुभयो, र यहाँ किन आउनुभयो, यति भन्नुहोस्। बीचको भागमा एउटा साँचो घटना राख्न सक्नुभयो भने झन् राम्रो।
जस्तो, बैंकको ग्राहक सेवामा जागिर खोज्दै गएकी बीबीए पढ्ने एक जना विद्यार्थीले यसो भन्न सक्छिन्, “म अहिले बीबीएको अन्तिम वर्षमा छु। गत वर्ष कलेजको वार्षिकोत्सवमा टिकट र खर्चको हिसाब मैले सम्हालेकी थिएँ। त्यहीँ थाहा भयो, मलाई हिसाबसँगै मान्छेसँग काम गर्न पनि मन पर्दोरहेछ। त्यसैले यो पदका लागि आएकी हुँ।”
तीस सेकेन्ड पनि लाग्दैन। तर टेबलपारिको मान्छेले अब “वार्षिकोत्सवमा के भएको थियो?” भनेर सोध्न सक्छ, र त्यसको उत्तर उनलाई घोक्नु पर्दैन, त्यो त उनले आफैंले गरेको काम हो। बुबाआमा र दिदीभाइको कुरा सोधेपछि भने भइहाल्छ।

जवाफ नआउने प्रश्न त आइहाल्छ। त्यस्तो बेला धेरैजसो डराएर जे पायो त्यही बोल्न थाल्छन्, अनि कुरा झन् बिग्रन्छ। दुई सेकेन्ड रोकिएर “यो कुरा मलाई ठ्याक्कै थाहा छैन, तर मैले बुझेसम्म…” भन्दा खासै केही बिग्रँदैन। म त यो भन्न सक्ने उम्मेदवारलाई अलि बढी नै पत्याउँछु।
कलेजको प्रेजेन्टेसनमा पनि हाल यस्तै हो। धेरैजना स्लाइडतिर फर्केर पढ्न थाल्छन्, कक्षाले त्योभन्दा छिटै पढिसकेको हुन्छ। अघिल्लो साँझ ल्यापटप बन्द गरेर कुनै साथीलाई दुई मिनेटमा त्यो विषय बुझाउने कोसिस गरेर हेर्नुहोस्। कहाँ अड्किनुभयो, थाहा भइहाल्छ।
जागिरकै मात्र कुरा गरें जस्तो लाग्ला। छात्रवृत्तिको अन्तर्वार्ता, भिसा काउन्टर, पहिलो जागिरमा तलबको कुरा गर्नुपर्ने बेला, यी सबैमा यही कुरा लाग्छ। तर मलाई अलि बढी खड्किने कुरा घरभित्रको हो। घरपरिवारले इन्जिनियरिङ पढ् भनिरहेको छ, तपाईंलाई होटल म्यानेजमेन्ट मन छ। खाना खाँदै गर्दा भन्न खोज्नुहुन्छ, आधा वाक्यमै अड्किनुहुन्छ, बुबाले एक-दुई प्रश्न सोध्नुभएपछि “हुन्छ नि त” भनेर उठ्नुहुन्छ। अनि चार वर्ष मन नपरेको विषय पढ्नुहुन्छ। इन्टरभ्यु बिग्रियो भने अर्को ठाउँमा दिन पाइन्छ, यसको चाहिँ त्यस्तो मौका कमै आउँछ।
आफ्नो कुरा भन्नका लागि पहिले त आफूलाई के चाहिएको हो भनेर सोच्नु पर्ने रहेछ। बोल्न सिक्दा यो पनि सँगै आउँछ। व्यक्तित्व विकास भन्ने ठूलो शब्द मैले यही अर्थमा बुझेको छु।
यो साता एउटा अभ्यास गरेर हेर्नुहोस्, तर यसका लागि एक जना साथी चाहिन्छ। चिया खाँदै गर्दा भए पनि हुन्छ, फोनमा भए पनि हुन्छ।
दिनको एउटा प्रश्न लिनुहोस्: आफ्नोबारेमा भन्नुस्, तपाईंको कमजोरी के हो, तपाईंलाई किन छान्ने, पाँच वर्षपछि आफूलाई कहाँ देख्नुहुन्छ। उत्तर पूरै लेखेर घोक्न पाइँदैन, कागजमा बढीमा तीन शब्द टिप्नुहोस्। अनि साथीलाई भन्नुहोस्, म बोल्दै गर्दा बीचबीचमा “किन?”, “अनि?”, “उदाहरण दिनु न” भनेर रोक्दै जा। पहिलो दिन साथीसँग रिस पनि उठ्ला, त्यो स्वाभाविक हो। सकिएपछि उसलाई सोध्नुहोस्, कुन ठाउँमा मेरो कुरा सुन्न मन लाग्यो? भोलि त्यस्तै कुरा अलि बढी भन्ने कोसिस गर्नुहोस्।
तपाईंका भाइबहिनी वा छोराछोरी जागिर खोज्दै छन् भने यो लेख उनीहरूलाई पनि पठाइदिनुहोला।
अर्को साता अफिसकै कुरा गर्छु, काम राम्रो गर्ने तर बढुवाको बेला नाम नआउने कर्मचारीको।












