शिवसताक्षी । झापाको प्रसिद्ध धार्मिक तथा तीर्थस्थल सताक्षीधाममा आयोजना हुन लागेको सतकुण्डीय गायत्री कोटी हवन महायज्ञको भूमिपूजन सुनको हलोबाट गरिने भएको छ। धार्मिक आस्था, वैदिक परम्परा र सनातन संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले गोलोक गोवर्धन गौशालाको आयोजनामा आगामी २०८३ माघ ९ गतेदेखि कोटी हवन महायज्ञ सञ्चालन हुन लागेको हो।
महायज्ञको मुख्य हवन कुण्ड निर्माणका लागि मङ्सिर ५ गते बिहान ११ बजे सुनको हलोले भूमि खनी वैदिक विधिअनुसार भूमिपूजन गरिने आयोजकले जनाएको छ। विश्वका विभिन्न देशबाट आउने सन्त, महात्मा तथा धार्मिक गुरुहरूको उपस्थितिमा विशेष पूजाआजा र धार्मिक अनुष्ठानसहित भूमिपूजन गर्ने तयारी गरिएको गोलोक गोवर्धन गौशालाका संरक्षकसमेत रहेका अध्यक्ष आचार्य नन्दकिशोरजी भारद्वजले जानकारी दिए।
उनका अनुसार भूमिपूजन कार्यक्रममा अमेरिका, क्यानडा, अस्ट्रेलिया, भारत, भुटान तथा नेपालका सन्त महात्मा र धार्मिक गुरुहरूको सहभागिता रहनेछ। वैदिक सनातन धर्ममा यज्ञ, हवन र मन्त्र साधनालाई आत्मशुद्धि, लोककल्याण, विश्वशान्ति तथा आध्यात्मिक चेतना अभिवृद्धिको महत्वपूर्ण माध्यमका रूपमा लिइन्छ। यही धार्मिक मान्यता र भावनालाई आत्मसात् गर्दै सताक्षीधाममा बृहत् धार्मिक अनुष्ठान आयोजना गर्न लागिएको हो।
झापामा ४२ वर्षपछि दोस्रोपटक कोटी हवन आयोजना हुन लागेको आयोजकको भनाइ छ। यसअघि २०४२ सालमा राष्ट्रगुरु योगी नरहरिनाथको अगुवाइमा झापाको कनकाईधाम (कोटीहोम) मा बृहत् कोटीहोम महायज्ञ आयोजना गरिएको थियो। उक्त महायज्ञमा एक करोड गायत्री मन्त्रद्वारा हवन गरिएको धार्मिक इतिहास छ। त्यसको चार दशकभन्दा बढी समयपछि पुनः झापाको पवित्र भूमिमा कोटी हवन आयोजना हुन लागेकाले यसलाई धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
कोटी हवनको तयारी तथा व्यवस्थापनका विषयमा मङ्गलबार गौशाला परिसरमा विद्वत् वर्गको भेला आयोजना गरिएको थियो। भेलामा विगतमा सम्पन्न धार्मिक अनुष्ठानहरूको समीक्षा गर्दै त्यसबेला प्राप्त अनुभव र राम्रा अभ्यासलाई आत्मसात् गर्ने तथा व्यवस्थापनका क्रममा देखिएका कमजोरी सुधारेर अघि बढ्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
भेलामा झापाका व्यवसायी लीला चिमरियाले विगतका कार्यक्रमबाट प्राप्त अनुभवका आधारमा यसपटक भक्तजन तथा श्रद्धालुका लागि आवश्यक आधारभूत सुविधाको प्रभावकारी व्यवस्थापन गर्नुपर्ने बताए। पिउने पानी, विद्युत्, सञ्चार, आवास, शौचालय तथा सरसफाइको उचित प्रबन्ध समयमै मिलाउनुपर्ने उनको सुझाव थियो। अघिल्लो १०८ कुण्डीय कोटी हवनका क्रममा आयोजकले भोगेका असहजता यसपटक दोहोरिन नदिन पूर्वतयारी र व्यवस्थापकीय पक्षलाई विशेष प्राथमिकता दिनुपर्ने उनले बताए।
धार्मिक अनुष्ठान सफल बनाउन पूजापाठ र हवनसँगै टाढाटाढाबाट आउने सन्त महात्मा, साधुसन्त तथा श्रद्धालु भक्तजनको सुविधालाई पनि उत्तिकै महत्व दिनुपर्ने सहभागीहरूको धारणा थियो।
सताक्षीधाममा २०७२ सालमा गोलोक गोवर्धन गौशालाको स्थापना भएको हो। स्थापनाकालदेखि नै गौसंरक्षण, सनातन धर्मको प्रवर्द्धन र धार्मिक गतिविधिलाई प्राथमिकता दिँदै आएको गौशालामा हाल दुई हजार पाँच सयभन्दा बढी गाईको संरक्षण भइरहेको छ। गौसेवा, धार्मिक अनुष्ठान र आध्यात्मिक गतिविधिका कारण सताक्षीधाम पछिल्लो समय देशकै महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा परिचित हुँदै गएको छ।

गौशाला स्थापना भएपछि धाम परिसरमा दर्जनौँ मठमन्दिर, देवालय, अतिथिगृह, सुविधासम्पन्न गौशाला, रामदरबार तथा द्वादश ज्योतिर्लिङ्गलगायतका धार्मिक संरचना निर्माण भएका छन्। यससँगै सडक कालोपत्रे, विद्युत् र खानेपानीजस्ता आधारभूत पूर्वाधारको समेत विस्तार भएको छ।
स्थानीयका अनुसार सन्त महात्मा तथा धार्मिक व्यक्तित्वहरूको नियमित आगमन, पूजापाठ, प्रवचन र विभिन्न धार्मिक गतिविधिले सताक्षीधामको धार्मिक महिमा र पहिचानलाई थप उचाइमा पुर्याएको छ। यसले स्थानीय क्षेत्रमा धार्मिक पर्यटनको विकाससँगै आर्थिक तथा सामाजिक गतिविधि बढाउनसमेत सहयोग पुगेको छ।
स्थानीय कपिलमणि पोखरेलले आचार्य नन्दकिशोरजी महाराजको आगमनपछि सताक्षीधाम क्षेत्रको विकासले नयाँ गति लिएको बताए। सन्त महात्मा तथा धार्मिक व्यक्तित्वहरूको उपस्थितिले यस क्षेत्रको धार्मिक पहिचान फराकिलो बनाउनुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुगेको उनको भनाइ छ।
सतकुण्डीय गायत्री कोटी हवन महायज्ञले सताक्षीधामको धार्मिक गरिमा अझ उचो बनाउने, वैदिक परम्परा र संस्कृतिको संरक्षणमा टेवा पुर्याउने तथा देशविदेशका श्रद्धालु भक्तजनलाई एउटै आध्यात्मिक स्थलमा जोड्ने विश्वास आयोजकले लिएको छ। धार्मिक आस्था, गौसेवा र विश्वशान्तिको कामनासहित आयोजना हुन लागेको यस महायज्ञले सताक्षीधामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको थप महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।












