शिवसताक्षी । धनञ्जय ऋषिकुल रिजाल वंश सेवा कन्द्रिय समितिले आज रिजाल वंशावली पुस्तक लोकार्पण गरेको छ । झापाको कोटिहोममा संस्थाको १४ औं वार्षिक साधारण सभा पारेर रिजाल वंशज सेवा केन्द्रिय समितिले पुस्तकको लोकार्पण गरेको हो ।

वि.सं. २०२६ सालदेखि वंशावली पुस्तक प्रकाशन गर्दा काम सुरु गरेको समितिले ४२ बर्षको मेहनतपछि रिजाल बंशज पुस्तक प्रकाशन गरी बिमोचन गरेको छ ।

समितिले आज (शनिवार) कनकाई माई धार्मिक स्थलस्थित रिजाल बन्धुहरुको भवनमा पुस्तक बिमोचनसँगै धनञ्जय ऋषिकुल रिजाल वंशज सेवा केन्द्रिय समितिको १४ औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

बिमोचन गरिएको रिजाल बंशज पुस्तकमा अमेरिका, अस्ट्रेलिया, जापान, थाइल्याण्ड, भारत, भूटान, बर्मा र नेपालका हिमाली चार जिल्लाबाहेक सवै जिल्लाका बन्धुहरु समावेश गरिएको पुस्तकका सम्पादक प्रकाशचन्द्र रिजालले जानकारी दिए । उनले हिमाली जिल्लाहरुमा वंशावली पुस्तक तयार पार्दा सम्म कुनै पनि रिजाल बन्धुहरुको तथ्यांक नभेटिएको बताए ।

पुस्तकमा एक लाख पाँच हजार बन्धुहरु समावेश छन् । एकहजार ४ सय पेजको उक्त पुस्तक पहिलो संस्करण भएको प्रकाशचन्द्रले बताए । हाल १ हजारप्रति प्रकाशन गरिएको पुस्तक २५ हजारदेखि एकलाख रुपैयाँ सहयोग गर्नेलाई निःशुल्क प्रदान गरिने र अन्यलाई सहयोग स्वरुप न्यूनतम दुई हजार ५ सय रुपैयाँ लिने सम्पादक रिजालले बताए ।
करिव २० लाख रुपैयाँको खर्चमा तयार गरिएको पुस्तक प्रकाशनका लागि केन्द्रिय समिति अन्तरगतका ७० जनाको पुस्तक प्रकाशन समिति निर्माण गरिएको र सात जनाको सम्पादन मण्डल समिति गठन गरिएको सम्पादक रिजालले जानकारी दिए ।

पुस्तक प्रकाशनका लागि २०२६ सालेदेखि अनवरत रुपमा खोज गरेर काम गरेको वंशावली संकलन कर्ता कल्याण रिजालले बताए । उनले आजसम्म निशुल्क रुपमा काम गरेको पुस्तकमा अनुसन्धानका क्रममा भेटिएका कुरालाई समावेश गरिएको र केही छुट भए दोस्रो संस्करण प्रकाशनमा समावेश गर्ने बताएका छन् । पुस्तक प्रकाशनका लागि संकलनका क्रममा नेपालका बिभिन्न जिल्लामा प्रत्यक्ष पुगेर धेरै मेहनतका साथ संकलन गरेको उनले बताए् । सोही कार्यक्रमकाबिच बन्धुहरुबाट संकलन रकम केन्द्रिय समिति कोटीहोमलाई हस्तान्तरण समेत गरेका छन् । संकलकर्ता रिजालले वशांवली संकलनका क्रममा सहयोग गर्ने बन्धुहरुलाई विशेष धन्यवाद दिएका थिए ।

कल्याण रिजालको खोज, अनुसन्धान र संकलनका आधारमा प्रकाशन गरिएको पुस्तक नमूना प्रेन्टिङ पे्रस बिर्तामोडका सञ्चालक कृष्ण रिजालको प्राविधिक सहयोगमा प्रकाशन गरिएको वंशावली निर्माण समितिले जनाएको छ ।

केन्द्रिय समितिका अध्यक्ष तीलनारायण रिजालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका जग्गादाता रामप्रसाद रिजालको प्रमुख आतिथ्य रहेको थियो । स्वागत समितिकी बरिष्ठ उपाध्यक्ष शारदा ढकाल रिजालले गरेको कार्यक्रमको सञ्चालन महासचिव इन्द्रप्रसाद रिजालले गरेका थिए ।

कार्यक्रममा डा. दीनदयाल रिजाल काठमाडौं, टीका रिजाल धनकुटा, तीलक रिजाल बिराटनगर, जय रिजाल पाँचथर फिदिमलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा नेपालसहित भारतलगायतका रिजाल बन्धुहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0