शिवसताक्षी । झापाको धरमपुरमा रहेकोे धरमपुर बचत तथा ऋण सहकारी संस्थाले अर्धवार्षिक समिक्षा गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. १ को धरमपुर बजारमा रहेर शिवसताक्षी नगर भरी कार्य क्षेत्र बनाएर सञ्चालन गरेको सहकारीले आज एक कार्यक्रम गरी अर्धवार्षिक समिक्षा गरेको हो ।
कार्यक्रमा उपस्थित शेयर सदस्यहरुले संस्थाले लगानी गरेको ऋण असुलीका विषयमा चासो व्यक्त गरेका छन्। संस्थामा भएका खराब शेयर सदस्य तथा ऋणीहरुले गर्दा असल शेयर सदस्यहरुले उनीहरुको घाटा व्यर्होनु परेको अधिकांशले गुनासो व्यक्त थिए।

समिक्षा कार्यक्रममा ९५ लाख शेयर पुँजी भएको संस्थाले ५ करोड ५० लाख बचत र ७ करोड माथि ऋण लगानी रहेको जानकारी गराइएको थियो । संस्थाको हाल ८ करोडको वासलात रहेको छ ।
सहकारीले शिवसताक्षी ११ दुधेमा रहेको सतासी महिला मौरी पालन सहकारी संस्थाले उत्पादन गरेको महलाई प्रवद्र्धन गर्ने उद्देश्यले आफ्ना शेयर सदस्यहरुलाई उक्त मह वितरण गरेको धरमपुर साकोसले जनाएको छ ।
संस्थाका अध्यक्ष कुमार शंकरको सभापतित्वमा भएको समिक्षा कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य विनोद ढकालले सहजीकरण गरेका थिए । संस्थाका उपाध्यक्ष चन्द्रकुमार खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव नारादमणी रिमालले गरेका थिए ।













