बिर्तामोड । झापामा पत्रकारहरुले पत्रकार सुरेस रजकको हत्या र मिडियामाथि भइरहेको आक्रमण विरुद्ध विरोध र्याली गरेका छन् । अन्तिम राजा ज्ञानेन्द्र शाहका समर्थकहरूले शुक्रवार गरेको हिंसात्मक आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या भएको थियो । उनलाई राजावादीहरुले आगजनी गरेको घरभित्र थुनेर हत्या गरेका थिए ।

नेपाल पत्रकार महासंघ झापाको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै शनिवार दिउँसो बिर्तामोडमा विरोध र्यालीसहित प्रदर्शन गरिएको छ ।

शुक्रबार अन्तिम राजाका समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो । बिर्तामोड परिक्रमा गरेको विरोध र्यालीपछि मुक्तिचोकमा कोणसभा गरिएको थियो । कोणसभामा पत्रकार महासंघ झापाका पूर्व अध्यक्षहरु कृष्ण हुमागाई, गणेश पोखरेल, मोहन काजी, झापा बारको तर्फबाट पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष समेत रहेका तारामणि सापकोटा, मानवअधिकारकर्मी डा.रुपक खनालले सम्बोधन गरेका थिए ।

पत्रकार हत्याको विरोधमा आयोजित र्यालीमा पत्रकारजन्य संघ संगठनहरु प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर, फोनिज, नारी सञ्चार गृह, सञ्चारिका समूह, बिर्तामोड उद्योग वाणिज्य संघ, बिर्तामोड नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, दलका प्रतिनिधिहरुले ऐक्यवद्धता जनाएका थिए ।

महासंघ झापाका सचिव प्रदीप परियारले चैत १७ गते कालोपट्टी बाँधेर काम गर्ने र १८ गते सदरमुकाममा र्यालीसहित जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाउने जानकारी दिएका छन् ।

‘आक्रमण विरुद्ध चुप लागेर बस्दैनौं ’
नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले आन्दोलनका नाममा अराजकता मच्चाउदै गएमा नेपाली प्रेसले सशक्त प्रतिका गर्ने बताएका छन् ।
प्रेस स्वतन्त्रता र नेपाली प्रेसको लागि सशक्त भई अघि बढ्ने बताउँदै अध्यक्ष गिरीले सञ्चार गृहहरुको सुरक्षाका लागि लढिरहने बताए । उनले नागरिक अगुवा संस्था पत्रकार महासंघले प्रेसमाथिको आक्रमणका विरुद्ध चुप लागेर नबस्ने बताएका छन् ।
विरोधीसभापछिको कोणसभामा बोल्दै उनले पत्रकार सुरेस रजकको क्रुरतापूर्ण ढंगले हत्या गरेको धारणा राखे ।

‘पत्रकारले दुर्गा प्रसाईको हिसावकिताव गर्नेछन्’
तारामणि सापकोटा
झापा बारका सदस्य एवम् पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष तारामणी सापकोटाले राजा फर्काउने नाममा गरिएको हिंसात्मक आन्दोलनको जति नै निन्दा गरे पनि कम हुने बताएका छन् ।

उनले दुर्गा प्रसाईले नेतृत्व गरेको आन्दोलनबाट पत्रकारको हत्या हुनु दुर्गाग्यपूर्ण भएको बताए । सापकोटाले झापामा अफ्ताम आफल जन्मन्छ भनेर कल्पना समेत नगरेको भन्दै न्यायप्रेमी पत्रकारहरुले अब प्रसाईलाई नछोड्ने चेतावनी दिए ।
व्यवसाय सञ्चालन गर्न मात्रै झापाली पत्रकारले प्रसाईलाई सहयोग गरेको हो । पत्रकार जलाउन सहयोन गरेको होइन, सापकोटाले भने – पत्रकारको हत्या गर्ने गरि गरिएको आन्दोलनको कमाण्डर प्रसाईलाई देशभरका पत्रकारहरुले हिसावकिताव गर्नेछन् ।
ज्ञोनन्द्र शाहको शासन हेरिएको भन्दै उनले दलका नेताका कारण लोकतन्त्र, गणतन्त्रलाई दोष दिन नमिल्ने बताए । नेतालाई सच्याउन सकिन्छ, फेर्न सकिन्छ, उनले थपे – ज्ञानेन्द्र गोभन साप हो । देशका लागि दुर्भाग्य हो । त्यसले डस्ने बाहेक केहि गर्ने छैन । उनले नयाँ पुस्तालाई राजतन्त्रले के–के गरेको हेर्न सूझाव दिदैं लोकतन्त्र, गणतनत्रको खरावी सच्याउन खवरदारी जरुरी रहेको बताएका छन् ।

गिरफ्तारी दिन सूझाव
नेपाल पत्रकार महासंघ झापाका पूर्वअध्यक्ष कृष्ण हुँमागाईले ज्ञानेन्द्र शाहलाई सच्चिन चेतावनी दिएका छन् । सच्चिेने हो भने एक पटकलाई छुट दिन सकिन्छ, होइन भने दुखद् अन्त्य हुने उनको भनाई थियो । पत्रकार महासंघ झापाले आयोजना गरेको विरोधसभामा बोल्दै हुँमागाईले आन्दोलनका नाममा अराजकता र गुण्डागर्दी क्षम्य नहुने धारणा व्यक्त गरेका छन् । नेपाली जनताको धैर्यतालाई कमजोरीका रुपमा लिए ठुलो क्षति व्यहोर्नुपर्ने चेतावनी दिए ।
पत्रकार हुँमागाईले नेपाली प्रेस जगत हिंसाको विपक्षमा रहेको भन्दै उनले पत्रकारहरुलाई भने, ज्ञानेन्द्र पूर्व राजा होइन, अन्तिम राजा हो । लेख्दा बोल्दा, अन्तिम राजा लेखौं, अन्तिम राजा भनौं ।
हिंसात्मक आन्दोलन गर्न उक्साएका ज्ञानेन्द्रले आत्मसमर्पण गरेर राज्य समक्ष गिरफ्तारी दिन उनले सूझाव दिए । उनले गल्ती गरे भन्दै माग्न सूझाव दिएका छन् ।

‘आन्दोलनकारीले जघन्य अपराध गरे’
नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष गणेश पोखरेलले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै सञ्चारकर्मीमाथि हुने आक्रमणको घोर निन्दा गरेका छन् । उनले दोषी पक्राउ नपरेसम्म पत्रकारहरुको आन्दोलन जारी रहने चेतावनी दिए ।
पोखरेलले भने, ‘हामी बोल्न पाउनुपर्छ, लेख्न पाउनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता हुनुपर्छ भनेर लडेका मान्छे हौं । तर, आज अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजिँदैछ । बोल्न नपाउने व्यवस्था ल्याउनुपर्ने भनेर वकालत गर्नेहरुले नै पत्रकारलाई जिउँदै जलाएर हत्या गरेका छन् ।’ उनले सरकारलाई हत्यारालाई अविलम्ब पक्राउ गरी कानूनी कारबाही गर्न माग गरे ।

उनले थपे, “अहिले प्रविधिको युग छ । कुनै पनि अपराधी पहिचान हुन नसक्ने अवस्था छैन । हिजो हामीले राजसंस्थाको शाही शासनको अवस्था खेपेर यहाँ आएका हौं । हामीले लेख्न र बोल्न पाउनका लागि कठोर संघर्ष गरेका थियौं । कर्नेल र जर्नेलहरुसँग समाचार अनुमोदन गराएर लेख्नुपर्ने व्यवस्थाको अन्त्यका लागि हामीले आन्दोलन गरेका हौं ।’

पोखरेलका अनुसार लोकतन्त्रको विकल्प राजतन्त्र होइन, बरु अझ उन्नत लोकतन्त्र नै हुनुपर्ने हो । उनले भने, ‘शासनसत्तामा बसेकाले केही कमी कमजोरी गरेका होलान्, तर हामीले आवधिक निर्वाचनमार्फत पाँच वर्षमा तिनलाई हटाएर अर्को व्यक्ति ल्याउने व्यवस्था गरेका छौं ।’
उनले थपे, “लोकतन्त्रमा बोल्न पाउने अधिकार छ, त्यसैले दुर्गा प्रसाईं र राजेन्द्र लिङ्देनलाई बोल्न छुट दिइएको हो । उनीहरुले बोलेका विषयलाई सञ्चारमाध्यममा प्रकाशन गरिएको छ । तर, अहिले राजतन्त्रको वकालत गर्नेहरुले नै पत्रकारहरुलाई जिउँदै जलाउने जघन्य अपराध गरेका छन् ।’

पोखरेलले दोषी जो कोही भए पनि, जसको संरक्षणमा भए पनि, कानूनी कारबाहीको दायरामा ल्याइनुपर्ने माग गरे । उनले स्पष्ट चेतावनी दिए, ‘दोषी पक्राउ नपरेसम्म, उनीहरुले कारबाही नभोगेसम्म, पत्रकारहरुको आन्दोलन जारी रहनेछ ।’

‘तानाशाही स्वीकार्य हुँदैन’
नेपाल पत्रकार महासंघ झापाका पूर्व अध्यक्ष मोहन काजीले पत्रकारितामा भइरहेको दमनको कडा विरोध गरेका छन् । उनले सञ्चारकर्मीहरू आफ्नो नियन्त्रणमा बसेर समाचार लेख्न चाहने तर उनीहरूलाई धम्की, भय र त्रास देखाउने कार्य अस्वीकार्य रहेको बताए ।
“यो हाम्रो रहर होइन, बाध्यता हो, काजीले भने, “हामीले निर्भय भएर आफ्नो कर्म, कलम चलाउन पाउनुपर्छ । हामी जहिले पनि शान्तिपूर्ण वातावरण चाहन्छौँ, तर तानाशाहहरू त्यस्तो चाहँदैनन् । तानाशाहहरू पत्रकारलाई धम्क्याउन चाहन्छन्, बुटले दबाउन चाहन्छन्, र सधैं प्रेसलाई नै पहिलो निशाना बनाउँछन् ।’

उनले इतिहासको सन्दर्भ कोट्याउदै हिजो राजतन्त्रका समयमा पनि प्रेसमाथि दमन भएको स्मरण गराए । “राजाको शासनदेखि शाही सत्ता चलाउनेहरूले प्रेसमाथि पहिला प्रहार गरेका थिए । प्रेसका कार्यालयहरू कब्जा गरिएका थिए, काजीले भने । “ज्ञानेन्द्र शाह, जो आज पूर्वराजा कहलिएका छन्, फेरि सडकबाट आफ्नो दुनो सोझ्याउन खोज्दैछन् । उनले पुनः सत्तामा फर्किन खोजिरहेका छन्, जसका लागि उनका समर्थकहरूले पत्रकारहरूमाथि आक्रमण गरिरहेका छन् ।

उनले हालै पत्रकार सुरेश रजकमाथि भएको अमानवीय हत्याको घटनालाई सम्झँदै त्यसको कडा शब्दमा निन्दा गरे । “पत्रकार सुरेश रजकलाई जिउँदै जलाइएको थियो । यस्तो हत्या गर्ने राजावादीहरूको घोर भत्र्सना गर्दछु,’’ काजीले भने । ‘यदि तिमीहरू एउटा पत्रकारको हत्या गरेर सम्पूर्ण प्रेसको मुख बन्द गर्न सकिन्छ भने सोच्दैछौ भने त्यो तिमीहरूको भ्रम मात्र हुनेछ । आज देशभरका सञ्चारकर्मीहरू सुरेश रजक बनेर सडकमा उत्रिन तयार छन् ।’

उनले लोकतन्त्रको रक्षाका लागि पत्रकारहरूको आवाज उठ्नुपर्नेमा जोड दिए । सञ्चारकर्मीहरूले बोल्न पाउनुपर्छ, यो हाम्रो मौलिक अधिकार हो । यो लोकतान्त्रिक व्यवस्था कुनै एक दल, व्यक्ति वा समूहको होइन । यदि तपाईँलाई कांग्रेस मन पर्दैन भने एमालेको शासन ल्याउन सक्नुहुन्छ । यदि एमाले मन पर्दैन भने माओवादी नेतृत्व स्वीकार्न सक्नु हुन्छ । तर, तानाशाही स्वीकार्य हुँदैन, उनले थपे । उनले प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै पक्षलाई सचेत रहन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0