झापा — झापाको शिवसताक्षी नगरपालिकामा वैशाख १३ गतेदेखि सुरु भएको मेलमिलाप सम्बन्धी आधारभूत तालिम सम्पन्न भएको छ। व्यक्तिहरूबीच उत्पन्न विवादहरू आपसी समझदारी र सहमतिमार्फत समाधान गर्न, समाजमा आपसी सद्भाव र शान्ति कायम राख्न, न्यायिक प्रक्रिया सजिलो, छरितो र सबैका लागि पहुँचयोग्य बनाउन मिलमिलाप केन्द्रको भूमिका रहन्छ ।

शिवसताक्षी नगरपालिका–स्थित होटल हाइजेनिकमा सम्पन्न तालिममा नगरका जनप्रतिनिधि तथा वडाले सिफारिस गरेका स्थानीय गरी करिब ३० जना सहभागी थिए। तालिममा मेलमिलापको विधि र व्यवहारमा आधारित अभ्यासहरू गराइएको थियो।

न्यायिक समितिको आयोजनामा र युवाकेन्द्र नेपाल कन्काईको संयोजनमा सञ्चालित तालिम मानव अधिकार मञ्च नेपाल इलामको सहजीकरणमा भएको हो ।

समापन समारोहमा उपप्रमुख नरमाया कार्कीले भनिन्, “अब नगरका साना–ठूला वादविवादहरू बाहिर लैजानु पर्दैन ।स्थानीय तहमै समाधान हुनेछ।” उनले थपिन्, “हिजो बलले मुद्दा मिलाइन्थ्यो भने अब बुद्धि प्रयोग गरेर छलफलका आधारमा मिलाउने हो।”

तालिममा सहभागीलाई नगरपालिकामा सूचीकृत गरी टोल–टोलमा वादविवाद मिलाउने अभियन्ताको रूपमा परिचालन गरिने कार्कीले जानकारी दिइन्।

तालिममा मानव अधिकार मञ्च, इलामका मानव अधिकारवादी देवेन्द्र बिक, युगराज सापकोटा र मणिकुमार केरुङले प्रयोगात्मक विधिबाट प्रशिक्षण दिएका थिए।

कार्यक्रममा कार्यकारी प्रमुख सुनिता तुम्बाहाम्फेले भनिन्, “तालिमले व्यक्तिको मात्र होइन, समग्र नगरको विकासमा योगदान पुर्‍याउँछ।”

तालिममा सहभागी कार्यपालिका सदस्य गोमा रिजाल, वडापालिका सदस्यपूजा नेपाली र पूर्व शिक्षक श्रीप्रसाद खरेलले तालिम अत्यन्तै उपलब्धिमूलक भएको प्रतिक्रिया दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0