शिवसताक्षी । झापाको शिवसताक्षीमा “सुरक्षित आप्रवासन मार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण” परियोजना अन्तर्गत एक दिवशीय बित्तीय साक्षरता तालिम सम्पन्न गरिएको छ ।
मिसियो जर्मनीको आर्थिक सहयोग, शिवसताक्षी नगरपालिकासँगको सहकार्य तथा समन्वयमा कारितास नेपालद्वारा सञ्चालित “सुरक्षित आप्रवासन मार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण” परियोजना अन्तर्गत बित्तीय साक्षरता तालिम सम्पन्न गरिएको हो ।
शिवसताक्षी नगरपालिका वडा न. १ मा गठित ‘धरमपुर महिला नौमती बाजा समूह’का १८ जना महिला सदस्यहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो । बैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरूले आत्मनिर्भर बन्न सकून भन्ने उद्देश्यले समूहलाई विभिन्न सीपमूलक तालिमहरू प्रदान गरिँदै आएको कारिता नेपालले जनाएको छ ।
तालिमका क्रममा महिलाहरूलाई प्राप्त हुने रेमिट्यान्सलाई कसरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने, आम्दानी–खर्चको सन्तुलन कसरी मिलाउने, परम्परागत बचतको धारणा परिवर्तन गर्दै नियमित र अनिवार्य रूपमा बचत गर्ने बानी कसरी बसाल्ने भन्नेबारे जानकारी गराइएको थियो । साथ ऋणको विवेकपूर्ण प्रयोग, लगानीका आधार, ऋण चुक्ता गर्ने विधिहरू अपनाउन सुझाब दिइएको थियो ।

समूहलाई आत्मनिर्भर बनाउन कारितास नेपालद्वारा नौमती बाजा बजाउने तालिम दिइएको परियोजनाका सामाजिक परिचालक श्री चिरन्जीवी लुइँटेलले जानकारी दिए । उनले तालिम प्राप्त गरेका महिलाहरुलाई शिवसताक्षी नगरपालिकाबाट १ सेट नौमती बाजा हस्तान्तरण गरिएको जानकारी दिए ।
तालिममा स्थानीय स्तरमा महिलाको आर्थिक सशक्तीकरण र सुरक्षित आप्रवासनमा आधारित कारितास नेपालको पहलप्रति सहभागीहरूले उत्साहजनक प्रतिक्रिया दिएका थिए ।
तालिम कार्यक्रम वडा न.१ की परियोजना सल्लाहकार समिति सदस्य श्रीमती मेरिना लुइँटेल कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि वडा सदस्य श्रीमती निर्मला पौडेल बराइली रहनु भएको थियो । तालिमको सहजीकरण लोकप्रिय खनालले गरेका थिइन् ।












