शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि दुई दिवसीय अभिमुखिकरण र रणनीतिक योजना पूर्व कार्यशाला सुरु गरेको छ । कार्यक्रम विहीबारबाट नगरपालिका कार्यालयमा सुरु भएको हो ।
अभिमुखिकरणमा बालबालिकामाथि लगानीलाई खर्च नभई भविष्यको दिगो लगानीका रूपमा लिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत तुम्बाहाङ्फेले बताउनुभयो । बालबालिकालाई शिक्षा, स्वास्थ्य र अवसर आवश्यक छ।” उहाँले भन्नुभयो बालमैत्री बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि अबलम्बन गर्नु पर्ने बुँदाहरुमा छलफल गरिने छ ।
अमिमुखिकरणमा छलफलका लागि बालमैत्री स्थानीय शासनका सुचनकहरु, बालक्लबको अवधारणा, र परिचालन, स्थानीय योजना तर्जुमा प्रक्रिया र बाल भेला, बाल मैत्री शासनका उपलब्धि र प्रतिफल, बालमैत्री स्थानीय शासन घोषणा पछि निरन्तरताका लागि गरिनु पर्ने कार्यहरु लगायत १९ बुँदा रहेका छन् ।
कार्यक्रम अधिकृत महेश लामिछानेका अनुसार कार्यशालाले बाल अधिकार तथा बालमैत्री शासन प्रणालीबारे सरोकारवाला निकायहरूलाई अभिमुखिकरण गराउनेछ । नेपालले सन १९९० मा बाल अधिकार महासन्धिमा हस्ताक्षर गरेको र नेपालको संविधान २०७२ ले बाल अधिकारलाई मौलिक हकको रूपमा स्थापित गरिसकेकाले बालमैत्री स्थानीय शासनको कार्यान्वयन अपरिहार्य रहेको कार्यक्रम अधिकृत लामिछानेले बताउनुभयो ।
अभिमुखिकरण सहजिकरण एस. संकल्प नेपालले गरेको थियो भने नेपाल बाल अधिकार परिषद्, कोशी प्रदेशका समन्वय अधिकृत सुमन अधिकारी सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा नगर कार्यपालिकाका सदस्यहरू, विभिन्न राजनीतिक दलका नगर अध्यक्षहरू, इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख, नगर उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस, नेपाल स्काउट, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, विषयगत शाखा प्रमुखहरू, बाल क्लब प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका, जेसीज र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनीता तुम्बाहाङ्फेले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने कार्यक्रम अधिकृत महेश लामिछानेले सञ्चालन गर्नुभएको थियो ।












