बिर्तामोड । शिवसताक्षी धाममा रहेको गोलोक गोवर्धन गौशालामा गाई हराइरहेको विषयले संरक्षकहरुलाई चिन्तित बनाएको छ ।
संरक्षण अभावमा रहेका गाईवस्तुलाई पालनपोषण गर्दै आएको गौशालाले चरणमा छोडेको बेला फर्किएर नआउने विषयले चिन्तित बनाएको गौशालाका संरक्षक आचार्य नन्दकिशोर भारद्वाजले जानकारी बताए । गौशालामा संरक्षित गाई चरणका लागि स्थानीय जंगल क्षेत्रमा छोड्ने गरिएको छ । अग्ला वृक्ष र घाँस अभावका कारण जंगलमा छोडिने गाई नफर्किदा चोरी भएको हुन सक्ने उनको अनुमान छ ।
गौशालाका संरक्षक भारद्वाजले महिनामा ५-६ वटा गाई हराइरहेको जानकारी दिए । २-३ दिनमा गोठमा गणना गर्ने गरिन्छ, उनी भन्छन, ‘कुनै गाई २-३ दिनपछि पनि फर्किएर आइरहेका हुन्छन्, कतिपय गाई फर्किएर आइरहेको अवस्था छैन । मंसिरदेखि बैशाखसम्म घाँसको व्यवस्थानमा निकै समस्या हुने गरेको छ । बैशाखदेखि बाँकी ४ महिना घाँसको व्यवस्थापन हुने गौशालाका संरक्षक भारद्वाज बताउँछन् । गौरक्षणका लागि वार्षिक रुपमा ४०-५० लाखसम्म खर्च हुने बताइन्छ ।












