शिवसताक्षी । शिवसताक्षी । झापा शिवसताक्षीको झिलझिलेमा बृहत उभौली साकेला पर्व मनाइएको छ । किराँत राई यायोख्या शिवसताक्षी नगर कार्यसमितिको आयोजनामा विविध साँस्कृतिक कार्यक्रमसहित उभौली साकेला पर्व मनाइएको हो ।
शिवसताक्षी नगरपालिका नगरप्रमुख मेगाहाङ्ग थोप्राले उद्घाटन गरेर सुरु भएको साकेला साँस्कृतिक पर्वमा किराँत समुदायहरुले आफ्नो भेष भुषा लगाएर मुन्दुमी गीत, च्याब्रुङ नाच, साकेला नाचहरु प्रस्तुत गरेका छन् ।

नगरप्रमुख मेगाहाङ्ग थोप्राले नेपाल बहुजाति, बहुभाषिक बहुसांस्कृतिक देश भएकाले यहाँका सबै जात जाति, भाषा धर्म, पहिचान र संस्कृति उतिकै महत्वपूर्ण रहेको बताए । शिवसताक्षी नगर भित्रै धेरै जातजातिहरुको बसोबास रहेको उहाँको आफ्नै संस्कृति र पहिचान छ । यहाँका धर्म संस्कृति र परम्पराहरु नगरका सम्पत्ति रहेको नगर प्रमुख थोप्राको भनाई थियो ।
कार्यक्रमा संस्थाका सदस्य पवन राईलाई मरणोपरान्त सम्मान गरिने गरिएको छ । त्यस्तै किराँत राई यायोख्या शिवसताक्षीलाई विभिन्न समयमा सहयोग गर्ने विनिता राई सम्मान, राष्ट्रिय कलाकार मेलिना राई, वरिष्ठ मुन्दुमी गायक तथा संगीतकार जितेन राई, लोकप्रिय आवाजकी धनी गायिका इन्द्रकला राईलगायत कार्यक्रम सहयोगी दातालाई सम्मान गरिएको किराँत राई यायोख्या शिवसताक्षी सचिव मिलन राईले जानकारी दिए ।
कार्यक्रममा किराँत समुदायका विभिन्न क्षेत्रबाट आएको कलाकारहरुले च्याम्ब्रङ नाचहरु प्रस्तुत गरेका थिए । कार्यक्रमा किराँतहरुको भेषभुषाहरुको प्रदर्शन समेत गराइएको किराँत राई यायोख्या शिवसताक्षीले जनाएको छ ।

उभौली पर्व प्रत्येक वर्ष बैशाख पूर्णिमा देखि किराँती रितीअनुसार भूमीको पूजा गरी मनाउने प्रचलन रहेको छ । किराँत समुदायले साकेला शिलि नाच्दै १ महिना सम्म मनाउने गर्छन । किरातीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी गर्नकालागि हरेक वर्ष वाली लगाउने समय बुद्धजयन्ती अर्थात उभौली र अन्न वाली पाकिसकेपछि खुसीयाली मनाउदै उधौली (मंसिर पूर्णिमा) विशेषरूपले खुसीयाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गरेका छन् ।
कार्यक्रममा शिवसताक्षी नगरपालिका उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङफे, वडाध्यक्षहरु विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । किराँत राई यायोख्या शिवसताक्षीका अध्यक्ष पर्शुराम राईको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन मिलन राईले गरेका थिए ।












