विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सहकारी अपचलनमा संलग्नलाई कुनै पनि बहानामा छुट नदिने बताउनुभएको छ ।
उहाँले सहकारी अपचलनमा संलग्नलाई निर्ममताका साथ कानुनी कारबाहीमा ल्याइने स्पष्ट पार्नु भयो । आज विराटनगरमा आयोजित “सहकारी ऐन र कार्यान्वयनका चुनौती” विषयक कार्यक्रममा बोल्दै उहाँले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई कुनै दबाव वा प्रभावमा नपरी काम गर्न निर्देशन समेत दिनुभयो ।
मुख्यमन्त्री कार्कीले सहकारीका सदस्यको पैसा अपचलन गर्नेहरूमाथि कडा कदम चाल्न सरकार तयार बताउँदै भन्नुभयो “सिद्धान्तभन्दा बाहिर गई सञ्चालन भएका सहकारीहरू एक न एक दिन समस्यामा पर्छन् । ” थोरै थोरै बचत गरेर धेरै बनाउला भन्ने सर्वसाधारण अहिले सडकमा रहेको भन्दै उहाँले तिनलाई न्याय दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङ्गामले सहरका सहकारीमा बढी समस्या देखिएको बताउनुभयो ।












