काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित डेरामा बस्दै आएकी ५० वर्षीया रोशनी शाही आइतबार दिउँसो मृत अवस्थामा फेला परेकी छन्।

जाजरकोटका स्थायी बासिन्दा शाही तीनतले पक्की घरको पहिलो तलामा डेरा गरी बस्दै आएकी थिइन्। दिउँसो करिब १ः५० बजे उनी कोठाभित्रै चुकुल लगाएर घोप्टो परेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ।

सूचना पाएलगत्तै प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार घटनाको प्रकृति, शवको अवस्था र कोठाको अवस्थालाई मध्यनजर गर्दै अनुसन्धान भइरहेकाले मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र स्पष्ट हुनेछ।

प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले कोठाभित्रबाट चुकुल लगाइएको अवस्थामा शव भेटिएको पुष्टि गर्दै विस्तृत अनुसन्धान सुरु भएको जानकारी दिएका छन्।

रोशनी शाहीले केही वर्षअघि तत्कालीन सभामुख कृष्णबहादुर महराविरुद्ध बलात्कारको आरोप लगाएकी थिइन्। सोही प्रकरणमा महरा पक्राउ परे पनि पछि उनी अदालतबाट सफाइ पाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0