बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ मा अवस्थित महत्वपूर्ण गोकुल जोशी मार्ग कालोपत्रे गर्ने कार्यले तीव्रता पाएको छ ।
मार्गको पहिलो खण्ड, कछुवारीदेखि दाहाल गाउँसम्मको ७५३ मिटर सडकमा आज मंगलबारदेखि कालोपत्रे बिछ्याउन थालिएको हो ।
यो कार्य भोलिसम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनी जय लक्ष्मी निर्माण सेवाका प्रतिनिधि दिनेश मैनालीले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालय, दमकको १ करोड ६४ लाख रुपैयाँको लागतमा यस खण्डको स्तरोन्नति भइरहेको हो ।गोकुल जोशी मार्गलाई विभिन्न तीन खण्डमा विभाजन गरी स्तरोन्नतिको काम अघि बढाइएको छ ।
दोस्रो खण्ड अन्तर्गत दाहाल गाउँदेखि लालमाटी चोक पश्चिम सम्मको करिब १ किलोमिटर क्षेत्रमा कोशी प्रदेश सरकार र बिर्तामोड नगरपालिकाको संयुक्त लगानी २ करोड ४४ लाख रुपैयाँमा काम भइरहेको छ ।
यस खण्डमा सब-बेसको काम सकिएकोले केही दिनभित्रै कालोपत्रे सुरु गरिने वडा नम्बर २ का अध्यक्ष किशाेर पौडेलले बताउनुभयो ।
तेस्रो खण्डको रूपमा चारपाने-घैलाडुवा सडकदेखि पश्चिम घाग्रा पुलसम्मको करिब १ किलोमिटर क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ६ करोड रुपैयाँ बजेटमा शान्ति निर्माण सेवा प्रालिले काम गरिरहेको छ ।
वडाध्यक्ष पौडेलका अनुसार, यस क्षेत्रमा तुलनात्मक रूपमा गहिरो भूभाग भएकाले हाल ‘प्लम’ निर्माण कार्य तीव्र गतिमा भइरहेको र चालु महिनाभित्रै कालोपत्रेको चरणमा पुग्ने अपेक्षा गरिएको छ।
सडक कालोपत्रे हुन थालेसँगै वर्षौंदेखि धुलो र हिलोको समस्या झेल्दै आएका स्थानीय बासिन्दा हर्षित भएका छन् ।
गोकुल जोशी मार्गका अतिरिक्त बिर्तामोड नगर क्षेत्रका बुट्टाबारी-प्याकुरेल चोक सडक, हर्कलाल मार्ग, र सहिद चन्द्रमार्ग लगायत अन्य महत्वपूर्ण सडकहरूको स्तरोन्नति कार्य पनि तीव्र गतिमा अघि बढिरहेको नगरपालिकाले जनाएको छ ।
विकास निर्माणका यी कार्यले नगरको मुहार फेरिने र नागरिकको जीवनस्तर सहज हुने विश्वास लिइएको छ ।












