शनिश्चरे । लेखक श्याम सिंघकको पछिल्लो कृति ‘कोइलाखाद’माथि झापाको अर्जुनधारामा परिचर्चा गरिएको छ ।
पाँचथरे लेखक सिंघकको तेस्रो कृतिको रुपमा रहेको ‘कोइलाखाद’ उपन्यास पूर्वी नेपालका युवाहरुको भविष्यकेन्द्रित रोजगार, भारतको मेघालय राज्यसँगको सम्बन्ध, संस्कार, संस्कृति, भाषा, मातृ सत्तात्मक संस्कार बोकेका खासिया समुदायसँगको यथार्थ चित्रण भएको समीक्षकहरुले चर्चा गरेका थिए । करिब ७ वर्षको गहिरो, खोजमुलक अध्ययन-अनुसन्धानपछि बजारमा आएको यस उपन्यासले नेपालका पूर्वी पहाडी जिल्लाहरुबाट सन् १९८० को दशकमा रोजगारीका लागि कोइला खानीमा कामदारका रुपमा जाने युवाहरुको जीवनबारे ओकलेको नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मुनाराज शेर्माले सुनाऊनुभयो । पाँचथरको एउटा गाउँबाट रोजगारीका लागि भारतको मेघालय छिरेको लिम्बू ठिटोले झेलेको सुखदुःखसँगै पारिवारिक, सांस्कृतिक, प्रेम सम्बन्धसँगै नेपाली युवाहरुको दर्दनाक अवस्था लेखक सिंघकले उपन्यासमा छर्लङ्ग पारेका छन् ।
साहित्यकार लीला अनमोलले नेपाली युवाहरु मातृसत्ता भूमि मेघालयका युवतीबीचको प्रेम सम्बन्ध, त्याग, समर्पणसँगै आफ्नो पारिवारिक सम्बन्धलाई सन्तुलित राख्न गरिएका प्रयासलाई लेखकले पाठकलाई ध्यान खिचिराख्न गरेको प्रयत्नको प्रशंसा गर्नुभयो । उपन्यासमा नेपाली युवाहरुको जीवन र मरणको अवस्थालाई पनि उत्तिकै सरल ढंगबाट प्रस्तुत गरेको उनीहरुको ठम्याइ छ । कोइला निकाल्न गएका युवाहरुले खानीभित्रै ज्यान गुमाउनुपर्ने स्थिति, फरक संस्कृतिका खासिया जातिको समुदायबाट दोदोस्रोदर्जाको नजरबाट अपहेलित जीवन बाँच्न बाध्य पारिएका अवस्था निकै धीत लाग्दो रहेको उल्लेख गरिएको छ ।
यसअघि ‘दलिता’, ‘रेमिटटल्याण्ड’ जस्ता पठनीय कृति पाठकसामु ल्याइसकेका लेखक सिंघकले यस उपन्यासलाई ऐतिहासिक दस्ताबेजका रुपमा लिएको सुनाउनुभयो । ३५४ पृष्ठ लामो उपन्यासमा प्रस्तुत घटना विवरण, पात्र यथार्थ भएको उहाँको भनाइ छ।
किरात मुन्धुम प्रतिस्ठान र नेपाली लेखक संघ झापाको सहकार्यमा यलम्बर टाइम्सले आयोजना गरेको कार्यक्रममा आख्यानकार कृष्ण बरालले पुस्तकमाथि टिप्पणी गर्नुभएको थियो। शिक्षक तथा साहित्यकार अभागी थेगुवाले सञ्चालन गर्नुभएको कार्यक्रममा यलम्बर टाइम्स साप्ताहिकका सञ्चालक तथा सम्पादक दिपिन कुमार राई र प्राज्ञ सदस्य सुमित्रा वाङ्देल चेलीले पुस्तकमाथि धारणा राख्नुभएको थियो।












