शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासी नागरिकहरूका लागि जग्गा धनीपूर्जा वितरण प्रक्रियाबारे जानकारी दिन एक दिवसीय अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ। आइतबार शिवसताक्षी नगरपालिकाको आयोजनामा तथा भूमि समस्या समाधान आयोग झापा जिल्लाको समन्वयमा कार्यक्रम अभिमुखिकरण गरिएको हो ।

अभिमुखिकरणमा जग्गा धनीपूर्जा वितरणका लागि आवश्यक प्रक्रिया, स्थानीय तह र जिल्ला आयोगको भूमिकाबारे जानकारी दिइएको थियो । भूमि आयोगका सदस्य लक्ष्मीप्रसाद आचार्यका अनुसार आयोगले झापाको बुद्धशान्ति, कनकाई, शिवसताक्षी र दमक नगरपालिकामा भूमिहिन नागरिकलाई धनीपूर्जा वितरणको काम अघि बढाएको छ।

हाल बुद्धशान्ति र कनकाई नगरपालिकामा करिब ५ सय धनीपूर्जा वितरणको तयारी भइरहेको छ। कनकाईमा केही धनीपूर्जा वितरण भइसकेको जानकारी दिँदै आचार्यले नेपालभर १ लाख ९७ हजार २९८ जनाबाट धनीपूर्जाका लागि निवेदन परेको उल्लेख गरे । साथै, १ करोड २५ लाख कित्ता जग्गा अझै दर्ता प्रक्रियामा नरहेको तथ्यांक पनि प्रस्तुत गरिएको छ ।

भूमिहिन सुकुम्बासी तथा दलितहरूलाई शहरी क्षेत्रमा ७।६ धुर, उपशहरी क्षेत्रमा १ कठ्ठा, र ग्रामीण क्षेत्रमा ५ कठ्ठा १८ धुर आवासीय जग्गा निःशुल्क उपलब्ध गराइनेछ । अव्यवस्थित बसोबासीहरूलाई पनि न्यूनतम ७.६८ धुरदेखि अधिकतम १ विघा ९ कठ्ठा १० धुरसम्मको जग्गा उपलब्ध गराइनेछ । कृषि प्रयोजनको जग्गाका लागि न्यूनतम ५ प्रतिशतदेखि १० प्रतिशतसम्मको मालपोत शुल्क निर्धारण गरिएको छ।
शिवसताक्षी नगरपालिकामा हालसम्म भूमिहिन दलित ९४, भूमिहिन सुकुम्बासी ४६७, र अव्यवस्थित बसोबासी ६ हजार ३६५ गरी कुल ६ हजार ९२६ जनाको निवेदन दर्ता भएको छ । तीमध्ये १ हजार ८३० जनाको विवरण आयोगको सफ्टवेयरमा इन्ट्री भइसकेको छ।

वडा नं. २ का ४९ वटा फाइल जिल्ला आयोगमा पठाइएको र ती धनीपूर्जा वितरण प्रक्रियामा रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । वडा नं. १ मा रहेका महारानी झोडा, लखनपुर, तोपगाछी, धरमपुर, सतासीधाम, शिवगञ्ज क्षेत्रका १३६ फाइलमध्ये २६ को नापजाँच सम्पन्न भइसकेको छ।

शिवसताक्षी नगरपालिका भूमि आयोगका फोकल पर्सन डिल्ली नेपालका अनुसार वडा नं. २ का ५३ फाइलमध्ये ४९ को नापजाँच सकिएको छ र धनीपूर्जा निर्माण प्रक्रिया अघि बढाइएको छ। अभिमुखिकरणमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले विगतमा गठन भएका आयोगहरूले काम अधुरो छाड्दा नागरिक मर्कामा परेको बताएका छन । हाल नगरपालिकामा भूमि सम्बन्धी कार्यका लागि ५ जना जनशक्ति कार्यरत छन, भने आवश्यकता अनुसार जनशक्ति वृद्धि गरी काम तीव्र बनाउने योजना रहेको छ ।

राधाकृष्ण आयोगले संकलन गरेको फाइल केन्द्रिय आयोगको सफ्टवेयरमा इन्ट्री हुन नसक्दा केही ढिलाइ भएको र नयाँ निवेदन संकलन भइरहेको जानकारी दिँदै नगरप्रमुख थोप्राले अबको काम छिटो सम्पन्न गरिने बताए ।

कार्यक्रममा भूमि समस्या समाधान आयोगका अध्यक्ष मदन अधिकारीले अब आयोगको काम पुनः सुरुबाट होइन, निरन्तरताका साथ अघि बढ्ने स्पष्ट पारे। “अब जसरी भए पनि धनीपूर्जा वितरण हुन्छ,” उनले भने, “शिवसताक्षीमा केही प्राविधिक समस्या थियो, त्यो अब समाधान हुँदैछ।”

उनका अनुसार झापामा हाल ५०० धनीपूर्जा वितरणको तयारी भइरहेको छ भने कमल गाउँपालिकाका एक नागरिकले ५१ वर्षपछि धनीपूर्जा पाएका उल्लेखनीय उदाहरण हुन ।

अभिमुखिकरण कार्यक्रममा वडाध्यक्षहरू हर्क सिगु, बहादुर आङ्बो, डिल्लीलाल फेम्बु, सिकिन पासवान, लक्ष्मी चेम्जोङ,नेकपा एमाले नगर अध्यक्ष मेदनी दंगाल, नेपाली कांग्रेसका नगर समिति सचिव होम दुलाल,  माओवादी केन्द्रका अध्यक्ष दुर्गा नेम्वाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति गंगाराम कडरिया लगायतले भूमि आयोगसँग जिज्ञासा राखेका थिए । । उनीहरूले सार्वजनिक, राजमार्ग आसपासका तथा बन क्षेत्रसँग जोडिएका जग्गामा देखिएका समस्याबारे जिज्ञासा राखेका हुन् ।

कार्यक्रमको सञ्चालन नगरपालिका प्रशासन प्रमुख डिल्ली नेपालले गरेका थिए भने सहजीकरण भूमि आयोगका सदस्य लक्ष्मीप्रसाद आचार्यले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1