शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ३ का चालु आर्थिक वर्षहरुमा गरिएका कामहरु अन्तिम चरणमा पुगेका छन् । शिवसताक्षी नगरपालिकाबाट विनियोजित ६० लाखको बजेटमा पूर्वाधार विकास लगायत सामाजिक विकास र शुसासन कायम गर्नका लागि विभिन्न कामहरु गरिएका छन् ।
जसमा सडक, भौतिक निर्माण, कल्भर्ड, तटबन्धन लगायतका कामहरु भएका वडाध्यक्ष भाष्कर न्यौपानलेले जानकारी दिए । वडामा संघीय सरकार, प्रदेश सरकार र स्थानीयतहबाट विनियोजन रकमबाट थुप्रै कामहरु भएको वडाध्यक्ष भाष्कर न्यौपानेले बताए ।

वडा गौरवको आयोजना अन्तर्गत ५० लाखको लागतमा पाराबारी बजार देखि ज्येष्ठ नागरिक भवनसम्म जाने ७५० मिटर सडक कालोपत्रे गरिएको छ । अलिनु लिम्बुको घर पूर्व धनबहादुर रसाइलीको घरसम्म जाने बाटो मर्मत, उदय देवानको घर जाने बाटो निर्माण, कल्याण न्यौपानेको घरदेखि दक्षिण रिङरोडसम्म जानेबाटो ग्राभेल, गीता श्रेष्ठको बाटो हुँदै दिपक श्रेष्ठको घर जाने बाटो ग्राभेल लगायत दर्जन बढी सडक ग्राभेल गरिएको वडा नं. ३ को कार्यालयले जनाएको छ । ट्रक रोड अन्तर्गत ३ किमी सडक आगामी आर्थिक वर्षमा कालो पत्रे गर्ने योजना रहेको वडाकार्यालयले जनाएको छ ।
पाराबारी बजारमा नगर स्तरीय योजनाबाट इन्टरलक ब्लक लगाएको छ । साताको एक पटक लाग्ने बजारमा व्यापारीहरुलाई सहज होस भन्ने उद्देश्यले इन्टरलक ब्लक लगाइको वडा कार्यालयले जनाएको छ । वडाले उक्त बजारमा रहेको ढलको ढकन समेत निर्माण गरेको छ ।

वर्षेनी खोला कटानको मारमा परेका नागरिकलाई मध्यजनर गर्दै चालु वर्षमा संघीय सरकारको ५ करोड ५० लाख विनियोजित बजेट मध्ये पहिलो चरणमा १७५ मिटर तटबन्धन निर्माण सुरु भएको छ । जसमा १ करोड ६० लाखमा १७५ मिटर तटबन्धनको काम सम्पन्न भएको छ । कुल ५०० मिटर बढी तटबन्धन निर्माण हुने वडाध्यक्ष न्यौपानेको भनाई छ ।
त्यस्तै पाराबरी बजार पूर्व डाँडामारी खेलामा २५ लाख, भानु मावि पश्चिम लेलिया खोलामा २० लाखको लागतमा तटबन्धन निर्माण गरिएको छ ।
वडामा ३ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । जस मध्ये भानु माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय भवन निर्माण गरिएको बताइएको छ । भानु माविबाट एस ईई परीक्षा तयारीका लागि वडाले अतिरिक्त कक्षा सञ्चालन गरेको वडाध्यक्षको न्यौपानेको भनाई छ । जसमा ३६ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । त्यस्तै वडा भित्र पाथिभरा प्रा.वि., शान्ति आधारभूत विद्यालयमा पनि शैक्षिक सुधारका लागि वडाले बजेट विनियोज गरी विभिन्न कामहरु सञ्चालन गरेको छ ।

वडाध्यक्ष न्यौपानेले आगामी वर्षमा पाराबारीलाई एउटा छुट्टै पहिचान गराउने एउटा स्तम्भ निर्माण गर्ने योजना रहेको बताए । पाराबारी एउटा पुरानो क्षेत्र हो यसको पहिचानको झल्कने गरीको स्तम्भ निर्माण गछौं र त्यही स्तम्भले पाराबारीलाई चिनाउने छ । उनले भने, हामीले यहाँका भाषा, सस्कृति, साहित्य र विभिन्न जात जाति, भाषा, धर्म र संस्कृतिको जर्गेना गर्न लागि परेका छौ । जसमा लोपोन्मुख सन्थाल जातिको भेष भुषा, याक्थुम चुम्लुङ, किराँत राई यायोख्याको कार्यक्रम, सेनाम ल्होसार जस्ता विभिन्न सांस्कृतिक पर्वहरुमा पनि कार्यक्रमा वडाले सहजीकरण गर्दै आएको छ।
महिलाहरुको जीवन स्तर माथि उठान नौमजिबाजा तालिम र अन्य सीपमुलक तालिमहरु पनि सञ्चालन गरिएका छन् । दलित क्षमता विकास कार्यक्रम अन्तर्गत ५ जनालाई ड्राइभिङ तालिम दिई लाइसेन्स समेत सहित उनीहरुलाई काम गर्न अब्बल बनाउने गरी काम गरिएको छ ।
वडाले अपाङ्गता भएका व्यक्तिहरुलाई पनि विभिन्न समय पौष्टिक आहार वितरण गर्दै आएको छ । त्यस्तै सुत्केरी महिला कार्यक्रम अन्तर्गत वडामा भएका सुत्केरी महिलाहरुलाई १ केजी, ओट्स, अनार, जुस, हर्लिक्स जस्ता खाद्य पदार्थ वडाले वितरण गरेको छ ।

वडाका नागरिकको मृत्यु भएका मृतकका परिवारलाई राहत उपलब्ध गराउँदै आएको छ । चालु वर्षको बैशाख महिना सम्ममा वडाका ३६ जना नागरिकको मृत्यु भएको छ । जसमा मृत्यु संस्कार कार्यक्रम अन्तर्गत प्रति परिवार ५ हजार वडाले सहयोग प्रदान गर्दै आएको वडा सचिव विनिसा बास्कोटाले जानकारी दिइन् ।
धरमपुर खानेपानीको पाइप लाइन विस्तार गरिएको छ । सुद्ध पिउने पानीको प्रबन्ध मिलाउँदै खानेपानीलाई नागरिकको पहुँच पुरयाउने उद्देश्यले पाइप लाइन विस्तार गरिएको हो । जसबाट वडाका २ सय घर धुरी लाभान्वित हुने देखिएको छ।
वडामा रहेका किसानहरुलाई उन्नत जातका विउ विजनको आभाव रहेको वडाध्यक्ष भाष्कर न्यौपानेले जानकारी दिए । वडाका अधिकांश मानिसहरुका कृषि पेशामा आवद्ध रहेका छन् । तर सरकारले उनीहरुको माटोको परीक्षण गरेर त्यसमा हुने खालको विउ विजन उपलब्ध नगराउँदा यहाँका कृषकहरु मारमा परेका छन् । कृषकले उत्पादन गरेका कृषि बस्तुहरुको बजारी करणको अभाव रहेको अध्यक्ष न्यौपानेको भनाई छ ।












