शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकाको समन्वयमा कारितास नेपालद्वारा सञ्चालित ‘सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना’ अन्तर्गत जीविकोपार्जन उत्थान कार्यक्रम सम्पन्न गरिएको छ।
परियोजनाको पहिलो चरणमा शिवसताक्षी नगरपालिका वडा नम्बर १, ४, ७, ८ र ११ मा छनोटमा परेका लक्षित व्यक्तिहरूलाई स्वरोजगारमुखी सामग्री वितरण गरिएको हो। बैदेशिक रोजगारको नाममा ठगिएका वा विदेशबाट असफल भएर फर्किएका साथै आर्थिक रूपमा विपन्न तर स्वदेशमै पुनःस्थापना भइ स्वरोजगार बन्ने स्पष्ट योजना भएका व्यक्तिहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रम अन्तर्गत लाभग्राहीहरूलाई उनीहरूको योजना अनुसार गाईपालन, सुंगुरपालन, किराना व्यापार, सिलाइ तथा चटपटे व्यवसाय सञ्चालनका लागि आवश्यक सामग्री प्रदान गरिएको हो।
कार्यक्रममा वडा नम्बर ८ का तुलसी रिजाल र वडा ७ का प्रकाश माझीलाई किराना पसल सञ्चालनका लागि सम्पूर्ण सामानहरू, वडा नम्बर ४ का महेन्द्र प्रसाद ताजपुरियालाई सिलाइ मेशिन र सम्बन्धित सामग्री, फागुलाल ताजपुरियालाई चटपटे पसलका लागि ठेला, ग्यास चुलो र भाडाकुँडा वितरण गरिएको छ। यस्तै, वडा नम्बर ११ का ३ जनालाई सुंगुर पालनका लागि ५० किलो तौलका ९ बोरा प्लेट दाना उपलब्ध गराइएको छ।
सामग्री मात्र नभई, परियोजनाले छनोटमा परेका व्यक्तिहरूलाई व्यवसाय सञ्चालनका लागि आवश्यक ‘भ्यालु चेन’, बजारीकरण, व्यवसायिक योजना तर्जुमा लगायतका विषयमा आधारभूत तालिममा पनि सहभागी गराउने जनाएको छ।
शिवसताक्षी नगरका सामाजिक परिचालक चिरन्जीवी लुइँटेलका अनुसार, यस वर्षका लागि छनोटमा परेका २० जना लाभग्राहीमध्ये १८ जनालाई सामग्री हस्तान्तरण भइसकेको छ भने बाँकी २ जनाको पनि प्रक्रिया अघि बढिरहेको छ।
सामग्री हस्तान्तरण कार्यक्रम सम्बन्धित वडाका जनप्रतिनिधिहरू, परियोजना सल्लाहकार समिति सदस्यहरू तथा कारितास नेपाल प्रादेशिक कार्यालय दमकका टिमहरूको प्रत्यक्ष रोहवरमा सम्पन्न भएको हो।
यो कार्यक्रमले विदेशबाट फर्किएका वा स्वरोजगार बन्ने चाहना भएका व्यक्तिहरूलाई स्वदेशमै आत्मनिर्भर बन्न प्रेरणा दिएको छ। संयोजन, सहकार्य र सशक्तिकरणको मार्गमा कारितास नेपालको यो पहल उदाहरणीय बन्ने अपेक्षा गरिएको छ।












