शिवसताक्षी । झापा शिवसताक्षी ३, पाराबारी स्थित भानु माध्यमिक विद्यायलका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण तथा कविता प्रतियोगिता सम्पन्न भएको छ ।
साप्ताहिक कार्यक्रमको अवसर पारेर आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ सुमित्रा बाङ्देल “चेली” रहनु भएको थियो। कार्यक्रममा उहाँको सक्रिय पहल र समन्वयमा युके निवासी सहयोगदाता सुरेन दिम्माली राईबाट विद्यालयलाई प्रदान गरिएको २० हजार रुपैयाँ आर्थिक सहयोगबाट बालविकासदेखि कक्षा ८ सम्मका १९ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको थियो।

पोशाक वितरण कार्यक्रममा विद्यार्थीहरुलाई अभिभावकको प्रत्यक्ष उपस्थितिमा शर्ट, प्यान्ट, फ्रक, जुत्ता, मोजा लगायत सम्पूर्ण पोशाक सेट प्रदान गरिएको थियो।
कार्यक्रममा वडा नं. ३ का वडाध्यक्ष भास्कर न्यौपानेले शिक्षा क्षेत्रमा वडा कार्यालयको निरन्तर योगदान रहेको उल्लेख गर्दै विद्यालयलाई सहयोग गर्ने दाताप्रति आभार व्यक्त गर्नुभयो। उहाँले सामुदायिक विद्यालयप्रति बढ्दो विश्वासले शिक्षाको गुणस्तर सुधारमा टेवा पुगिरहेको धारणा राख्नुभयो।
यस अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम खनालले विद्यालयले विभिन्न स्रोतबाट सहयोग जुटाउँदै आएकोमा खुसी व्यक्त गर्दै लक्षित विद्यार्थी समूहको सिकाइमा प्रत्यक्ष असर पर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका सभापति गणेशबहादुर राईले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि निरन्तर पहल भइरहेको उल्लेख गर्दै सामुदायिक विद्यालयमा दाताहरूको महत्त्वपूर्ण योगदानलाई भगवानसरह मानेर उच्च सम्मान गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले सबै पक्ष मिलेर अघि बढेमा भानु माविको समग्र सुधार सम्भव हुने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमको अवसरमा आयोजित कविता प्रतियोगितामा ११ जना सहभागी भएका थिए। प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा दुई जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो भने सहभागी सबैलाई सहभागिता पनि पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताका लागि पुरस्कार व्यवस्थापन प्राज्ञ सुमित्रा बाङ्देल “चेली”ले गर्नु भएको थियो।
कार्यक्रममा शिक्षक कमल नेपाल र राधा बोगटी लुइटेलले प्रेरणादायी कविता वाचन गरी वातावरण थप उत्साहपूर्ण बनाएका थिए। कार्यक्रमको स्वागत मन्तव्य सरु भट्टराईले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन, समन्वय तथा सहजीकरणको भूमिका विद्यालयका शिक्षक खुबबहादुर राई “सञ्जय”ले निर्वाह गर्नुभएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन अध्यक्ष गणेशबहादुर राईको अध्यक्षतामा भएको थियो।












