शिवसताक्षी । झापाको शिवसताक्षी वडा नं. ४ मा चालु आर्थिक वर्षमा सडक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा वडाले सन्तोष जनक काम गरेको पाइएको छ । शिवसताक्षीको दक्षिणी क्षेत्रमा पर्ने वडाले नगरबाट विनियोजित वडा शिलिङ्ग बजेटलाई परिचालन गर्दै वडा विकासमा सन्तोजनक काम गरेको हो । वडामा सडक सञ्जाल विस्तार वडामा भएका ५ ओटा सामुदायिक विद्यालयहरु सुधार, ज्येष्ठ नागरिक, अपाङ्ग, विपन्न नागरिक मैत्री कार्यमहरु सञ्चालन गरेको वडा कार्यालयले जनाएको छ ।
सडक
झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा हालसम्म १० किमी सडक कालो पत्रे सडक रहेको छ । चालु आ.व.मा जनता बोलोचोक सडक २ किलोमिटर निर्माणको चरणमा रहेको छ । सघीय सरकरबाट विनियोजित २ करोड उक्त सडक निर्माणधिन अवस्था रहेको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । उक्त सडक आषाढ मसान्त अगावै सम्पन्न हुनेछ । त्यस्तै नगरको रिङ्गरोड सडक अन्तर्गत वडामा १७५० मिटर सडक पनि कालो पत्रे गरिएको वडाध्यक्ष प्रसाईले बताए ।
चालु वर्षको वडा गौरवको योजना अनुसार बोलोचाक बजार देखि झापा इनर्जी जाने ४४५ मिटर सडक कालोपत्रेको तयारी गरिएको वडा नं. ४ को कार्यालयले जनाएको छ । उक्त सडक वडाको २० लाख विनियोजित बजेटबाट कालोपेत्र गर्न थालिएको हो । सघीय सरकारबाट विनोजित १ करोडको लागतमा ओडारीचौक देखि दक्षिण कुञ्जिबारी जाने ७४५ मिटर सडक कालोपत्रे गरिएको छ ।

चालु वर्षमा वडा कार्यालयले बोलोचाक बजार दक्षिण बाहुन टोल हुँदै गौरीगञ्ज १, जनता चौरी जाने २५ सयमिटर सडक उच्चस्तरीय ग्राभेल, गान्धारी चोकबाट मन्जुश्री जाने बाटो, त्रिभुवन मावि पश्चिम टंक पौडेलको घर जाने बाटो लगायत १० ओटा बाटोको स्तरोन्नती गरेको वडाध्यक्ष प्रसाईको भनाई छ ।
शिक्षा
शिवसताक्षीको ४ नम्बर वडा भित्र ५ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । जसमा त्रिभुवन माध्यमिक विद्यालय, मञ्जुश्री आधारभूत विद्यायल, पाथिभरा आधारभूत विद्यालय, जनता प्राथमिक र कनकाई प्राथमिक विद्यालय रहेका हुन् । नगरपालिकाले स्मार्ट विद्यालय कार्यक्रम अन्तर्गत त्रिभुवन माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर लगायत विद्यालयको भौतिक सुधारका कामहरु गर्दै आएको शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए। विद्यालयका कक्षा कोठाहरुलाई बालमैन्त्री निर्माण गर्ने, शौचालय निर्माण, विद्यालय भवन निर्माण गर्ने र रोङरोगन गर्ने काम भइरहेको त्रिभुवन माध्यमिक विद्यालयले जनाएको छ। त्यस्तै दाताहरुको सहयोगबाट कनकाई र जनता प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा विद्यालय पोशाक वितरण गरेको वडा कार्यालयले जनाएको छ ।
वडाका दुई जना विद्यार्थीलाई निशुल्क १८ महिने शिभिल इन्जिनियर कोर्ष अध्यापन गराइदै आएको वडाध्यक्ष प्रसाईको भनाई छ ।

विद्यार्थीहरुलाई विद्यालयसम्म गएर अध्ययन गर्न सहज प्रदान गर्ने उद्देश्यले वडाका ११ जना दलित तथा विपन्न विद्यार्थीहरुलाई साइकल वितरण गरेको छ । शिवगञ्जमा रहेको जनआदर्श माध्यमिक विद्यालय र त्रिभुवन माध्यमिक विद्यालयमा ११ र १२ कक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई वडाको १ लाख सिलिङ बजेटबाट साइकल वितरण गरेको जनाएको छ । वडाको सिफारिसमा गणेशमा अध्ययन प्रतिष्ठान इन्जिनियरिङ्ग कलेज झिलझिलेमा छात्र छात्राहरुलाई निशुल्क अध्यापन गराइदै आइएको छ । त्यस्तै आदिबासी समुदायका २ जना छात्राहरुलाई वडाले विराटनगरमा निशुल्क अध्यापन गराउँदै आएको वडाध्यक्ष प्रसाईले जानकारी दिए ।
विपन्न नागरिक लक्षित कार्यक्रम
वडाले विपन्न नागरिक लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। जस अन्तर्गत वडाका विपन्न नागरिकहरुलाई निशुल्क स्वास्थ्य विमा गरिएको छ वडाले चालु आर्थिक वर्षमा ५० जना विपन्न नागरिकको स्वास्थ्य विमा गरिदिएको वडा सचिव गीतादेवी ताजपुरियाले जानकारी दिइन् । कम्तिमा ती नागरिक विरामी हुँदा एक लाख सम्मको उपचार खर्च लाग्ने छैन ।
वडा नं. ४ मा अधिकांश आदिबासी समुदाय र केही सुकुम्बासीहरु रहेकाले उनीहरुलाई शुद्ध पिउने पानीको पहुँच पुरयाउन बायोसेट फिल्टर वितरण गरिएको वडा कार्यालयले जनाएको छ । जसमा १७ घर परिवारलाई उक्त फिल्टर वितरण गरिएको हो । वडाका महिलाहरुलाई उद्यमी बनाउन २ महिने एडभान्स सिलाई कटिङ्ग तालिम सञ्चालन भइरहेको छ । वडाले ती मध्ये १२ जना महिलाहरुलाई सिलाई मेसिन वितरणको तयारी रहेको जनाएको छ ।

वडाले विपन्न युवा यवतीहरुलाई रोजगारीका लागि सीप प्रदान गर्ने उद्देश्यले ड्राइभिङ्ग तालिम सञ्चालन गरेको छ । जसमा ९जनाले तालिम लिई लायसेन्स समेत प्रात गरेका छन् । त्यस्तै सुत्केरी पोषण कार्यक्रम अन्तर्गत वडाले ८६ जना सुत्केरी महिलाहरुलाई पौष्टिक आहार वितरण गरेको छ । वडाले सुत्केरी आमालाई पौष्टिक आहार र नवजात शिशुलाई न्यानो कपडा वितरण गरेको हो । विपन्न परिवारका फुसका छाना विस्तावित गर्दै २० परिवारलाई प्रति परिवार १ बन्डल टिन निशुल्क प्रदान गरेको छ । त्यसैगरी वडा भित्र रहेका विभिन्न धार्मिक संस्थाका कीर्तन मण्डलीहरुलाई बाध्यबादन निशुल्क प्रदान गरिदिएको छ ।धर्म संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ९ वटा भजन मण्डलीलाई बाध्यबादन प्रदान गरेको वडा कार्यालयले जनाएको छ ।
भौतिक संरचना निर्माण
नगरपालिकाको वडा नं. ४ रंग्यायथान बजार र बोलोचोक बजारमा इन्टरलक क्लब लगाइएको छ । बजारलाई व्यवस्थित गर्न नगर स्तरीय योजनामा मार्फत उक्त क्षेत्रमा इन्टरलक ब्लक लगाइएको हो । नगरपालिकाले नगरकका मुख्य बजारहरुमा इन्टरलक क्लब लगाउने काम भने अन्तिम चरणमा पुगेको जनाएको छ। त्यस्तै गरी पाँचगाछी पुरानो कृषि बजारलाई व्यवस्थित गर्दै ४ कोठाको व्यापारिक टहरा निर्माण गरिएको वडाकार्यालयले जनाएको छ ।
वडाको एक मात्र मलामी घाट बालोचोक बजार पश्चिम कमल बनियानी खोलाको किनारमा मलामी टहरा निर्माण गरिएको छ । प्रदेशस्तरीय १० लाखको लागतमा उक्त टहरा निर्माण गरिएको वडाध्यक्ष प्रसाईको भनाई छ । वडामा तीनै तहका सरकारले धार्मिक क्षेत्रहरुमा लगानी गर्दै आएका छन् । पाँचगाछीको डाँडा गाउँमा प्रदेश स्तरीय २५ लाख हजारको लागतबाट बौद्ध गुम्बा निर्माण गरिएको छ । नागरिकलाई खाने पानी उपलब्ध गराउन पाँचगाछी खानेपानी आयोजनाले काम सुरु गरेको छ । प्रदेश सरकारबाट विनियोजित १५ लाखको बजेटबाट हाल खानेपानीका लागि संरचना निर्माण भइरहेको वडा कार्यालयले जनाएको छ । स्थानीय कृष्ण गुरुङ्गले प्रदान गरेको साढे ५ कठ्ठा जमिनमा विपन्न परिवारका लागि आभाव निर्माणधिन अवस्थामा रहेको छ । वडा भित्र केही नभएका नागरिकका लागि आवाश दिने उद्देश्यले हाल ३ वटा घर निर्माणको चरणमा रहेको बताइएको छ ।
अधुरै रहेका योजना
शिवसताक्षी नगरपालिका वडा नं. ४ मा केही आवश्यक संरचनाहरु बन्न सकिरहेका छैनन् । प्राथमिकतामा राखेर काम सुरु गरिएको केही योजनाहरु बन्न नसक्दा नागरिक मारमा परेका छन् ।
वडाको बोलोचोक बजारमा अस्थायी प्रहरी चौकी स्थापना गर्ने भनिए पनि हालसम्म नभएको वडाध्यक्ष विष्णु प्रसाईले जानकारी दिए । प्रहरी चौकी स्थापनाका लागि स्थानीय त्रिलोचन प्रसाईले ४ वर्ष अघि ८० लाख बराबरको निःशुल्क जग्गा उपलब्ध गराएका थिए । हालसम्म कुनै पनि काम भएको छैन ।
त्यस्तै जनता बोलोचाक जाने कुञ्जिबारी सडक कालो पत्रे गर्न नसक्दा त्यस रुढमा आवत जावतमा कठिनाई भएको छ । नगरका सबै वडाहरुलाई जोड्ने उद्देश्यले निर्माण थालिएको रिङ्गरोड अन्तर्गतको सडक वडा नं. ४ भने केही सडक बन्न बाँकी रहेको वडाध्यक्ष प्रसाईको भनाई छ ।
वडाले विश्वडुब्बा स्थित कनकाई माईमा मलामी टहराको आवश्यता महशुष गरेपनि बजेट अभावका कारण बनाउन नसकिएको वडाध्यक्ष प्रसाईको भनाई छ । वडाका केही क्षेत्रहरुमा सुकुम्बासीहरुको बसोबास रहेको छ । त्यस्ता सुकुम्बासीहरुलाई व्यवस्थापन गर्न नसकएको वडाध्यक्ष प्रसाईले बताए ।












