शिवसताक्षी । झापाको शिवसताक्षीमा धनिपुर्जा वितरणका लागि पहिलो चरणको काम निस्सा वितरण आजबाट सुरु भएको छ । नगरको वडा नं. १ र २ मा भूमिहिन सुकुम्बासी, भूमिहिन दलित र अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गर्न सुरु गरिएको हो ।
शिवसताक्षीमा रहेका भूमिहिन नागरिकहरुलाई जग्गाधनी प्रमाण पत्र वितरणका लागि पहिलो चरण निस्सा वितरण नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताउनु भयो । उहाँले अन्य वडाहरुमा भन्दा वडा नं. १ र २ मा पहिलेदेखि नै काम भइरहेकाले आजबाट निस्सा वितरण गर्न सुरु गरिएको बताउनु भयो । जग्गा धनी प्रमाण पत्र वितरणका लागि अब काम नरोकिने र क्रमशः ३ देखि ६ नम्बर वडासम्म निस्सा वितरण काम गरिने नगरप्रमुख थोप्राले बताउनु भयो ।

अब नगरबासीले धनीपुर्जा प्राप्त गर्न बाटो खुल्दै गएको छ । सबैलाईं आसाबादी हुन नगरप्रमुखले आग्रह गर्नु भएको छ । वडाको ११ वटै वडाहरुमा धनी पुर्जा वितरण गर्न निकै समय लाग्न सक्ला तर काम सकिएका वडाहरुमा धनीपुर्जा वितरण गर्दै जाने लक्ष्य राखिएको नगरप्रमुख थोप्राले बताउनु भयो ।
निस्सा वितरणमा उपप्रमुख नरमाया कार्कीको समेत सहभागिता रहेको थियो । शिवसताक्षीको वडा नं. १ मा ९५ जनालाई निस्सा वितरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । जसमा ९४ जनालाई अव्यवस्थित बसोबासी र १ जनालाई भुमिहिन सुकुम्बासीलाई वितरण गरिएको हो ।

त्यस्तै वडा नं. २ मा ५४ जनालाई अव्यवस्थित बसोबास र १ भूमिहीन सुकुम्बासीलाई वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले दावी विरोधनका लागि सूचना ७ दिने र १५ दिने सुचना प्रकाशित गरेको छ । भूमिहीन सुकुम्बासी, भूमिहिन दलितका लागि ७ दिन र अव्यवस्थित बसोबासीका लागि १५ दिने सूचना निकालिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।












