शिवसताक्षी । शिवसताक्षीमा निस्शुल्क विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न २०८२ शिवसताक्षी । झापाको शिवसताक्षीमा एक दिवशीय निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिवसताक्षी नगरपालिका अन्तर्गत दुधे आयुर्वेद औषधालयको आयोजनामा शिवसताक्षी ४, बोलोचोकस्थित कृष्ण प्रणामी मन्दिर परिसरमा स्वास्थ्य शिविर सम्पन्न भएको हो ।

शिविर नगर प्रमुख मेघाहाङ थोप्रा उद्घाटन गर्नु भएको हो । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले आयुर्वेद सेवाबाट टाढा रहेका वडा र बस्तीहरूमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गरेर दूरदराजका जनताहरूको आर्थिक तथा स्वास्थ्य सुरक्षामा यस शिविरले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले यस्ता शिविरहरूलाई आगामी दिनमा समेत निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
शिविरमा आयुर्वेदका वरिष्ठ चिकित्सकहरू डा. विजय श्रेष्ठ र डा. नुतन महतोले बिरामीहरूलाई स्वास्थ्य परीक्षण र परामर्श सेवा प्रदान गर्नुभएको थियो ।

प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले आयुर्वेद औषधिको प्रभावकारिता र सुरक्षित प्रयोगबारे महत्वपूर्ण सन्देश दिनुभयो । उहाँले आयुर्वेद औषधिले साइड इफेक्ट नगर्ने भएकाले दीर्घकालीन रोगहरूमा यसको प्रयोग अझ प्रभावकारी हुने बताउनुभयो ।
शिविरमा २०० जना भन्दा बढी बिरामीका निशुल्क स्वास्थ्य परीक्षण तथा सुगर जाँच गरिएको थियो । शिविरमा ४० प्रकारका आयुर्वेद औषधिहरू निशुल्क वितरण गरिएको दुधे आयुर्वेद औषधालयले जनाएको छ ।

कार्यक्रमले समुदायमा आयुर्वेदिक स्वास्थ्य सेवाप्रति जनचासो र भरोसा थप गरेको दुधे आयुर्वेदका कविराज निरिक्षक राजेन्द्र पोख्रेलले जानकारी दिनु भयो । उहाँले भविष्यमा यस्ता शिविरहरूलाई अझ व्यापक बनाई निरन्तरता दिने योजना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा सबैभन्दा बढि हाडजोर्नी नसा, प्रेसर, सुगर र पेट सम्बन्धि समस्या भएका बिरामीहरुले स्वास्थ्य परीक्षण गराएका थिए ।
शिविरको उद्घाटन शिवसताक्षी नगरपालिका वडा न ४ का वडाध्यक्ष विष्णुप्रसाईको अध्यक्षतामा भएको थियो ।












