काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका शासकहरूमा खेलाडीको जस्तो पवित्र भावना भए युद्ध, हिंसा र निर्दोषको हत्या रोकिने धारणा व्यक्त गरेका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्यलाई जीवनको सबैभन्दा ठूलो सम्पत्ति भने। उनले शारीरिक, मानसिक, पारिवारिक र सामाजिक स्वास्थ्य मात्र नभई अन्तर्राष्ट्रिय स्वास्थ्यसमेत व्यक्तिगत स्वास्थ्यसँग जोडिएको उल्लेख गरे।
“स्वास्थ्य सबैभन्दा ठूलो धन हो। अर्को देशमा हमला गरी मान्छे मारेर जित्नुभन्दा खेल खेलेर जित्नु राम्रो हुन्थ्यो,” प्रधानमन्त्री ओलीले भने, “खेलाडीहरूको जस्तो भावना विश्वका शासकहरूमा भइदिने हो भने दुनियाँ शान्तिपूर्ण, रमणीय र सुरक्षित हुन्थ्यो। निर्दोष बालबालिका, हस्पिटलमा रहेका विरामी, गर्भमा रहेका शिशुहरू मारिनुपर्ने थिएन।”
उनले युद्धरत राष्ट्रका शासकहरूमा शान्ति र मानवताको भावना जाग्नुपर्नेमा जोड दिए। साथै, शान्ति र मित्रता प्रवर्द्धन गर्न खेलकुदको ठूलो भूमिका हुने उल्लेख गरे। प्रधानमन्त्रीले सरकारको मूल स्वास्थ्य नीति “निरोगी नेपाल” रहेको स्मरण गराउँदै स्वास्थ्य क्षेत्रको मजबुतीमा प्रतिबद्धता व्यक्त गरे।












