शिवसताक्षी । शिवसताक्षी । झापाको शिवसताक्षी १० को वडा कार्यालयमा भएको निशुल्क आँखा शिविरमा १७७ जनाले सेवा लिएका छन् ।
शिवसताक्षी नगरपालिका वडा नं. १० को आयोजना तथा सहयोगी समूहको समन्वयमा भएको शिविरमा वडाका १७७ जनाले आँखा जाँच गराएका हुन् । जस मध्ये ११ जनाको मोतिविन्दुको निशुल्क अपरेशनको तयारी गरेको वडा कार्यालयले जनाएको छ ।

उनीहरुलाई मेची आँखा अस्पताल विर्तामोडमा अपरेशन गरिने बताइएको छ । शिविरमा वडाध्यक्ष हर्क सिगुले वडाले अपेक्षा गरेको भन्दा धेरै नागरिकले सेवा लिएको बताए । उनले आगामी आर्थिक वर्षमा बृहत रुपमा आँखा शिविरको आयोजना गरिने जानकारी दिए। शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले वडाले नागरिकको स्वास्थ्य लाई ख्याल गर्दै शिविर सञ्चालन गरेको धन्यवाद दिएकी थिइन् ।
आँखा शिविर मेची आँखा अस्पतालका विशेषज्ञ डाक्टरहरुको टोलीले सहजीकरण गरेको थियो ।












