शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. १ को कार्यालय परिसर धरमपुरमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङले विकास सबैको साझा जिम्मेवारी भएको दोहोर्याउँदै सामाजिक सञ्जालमा मात्रै गुनासो गर्ने प्रवृत्तिप्रति चिन्ता व्यक्त गरे।
वडाध्यक्ष चेम्जोङले चोक बजारमा हावा गफ गर्ने तर प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाइमा उपस्थित नहुने प्रवृत्ति हावी हुँदै गएको बताउँदै, विरोधका लागि मात्र विरोध नगरी विकासमा सक्रिय सहभागिता जनाउन आग्रह गरे। उनले आफ्नै घर अगाडि हुने विकासप्रति समेत चासो नदेखाउने प्रवृत्तिको आलोचना गरे।

कार्यक्रममा वडाको पुल, बाटो, खानेपानी, शिक्षा र स्वास्थ्यजस्ता भौतिक संरचना निर्माणका लागि माथिल्लो निकायसँग सहयोग मागिएको जानकारी दिइयो। वडावासीको समेत उत्तिकै भूमिका हुने भन्दै, वडाध्यक्षले विकास योजनामा सामूहिक सहभागिता आवश्यक रहेको बताए।
सार्वजनिक सुनुवाइमा सहभागी नागरिकले वडाको विकास निर्माणमा कडाइका साथ अनुगमन गर्नुपर्ने, टोल विकास संस्था र हात्ती नियन्त्रण समिति गठन गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने, ऐलानी जग्गाको समस्या समाधान गर्ने, अनुदानसम्बन्धी सूचना सबैसम्म पुर्याउने, सडक बत्ती र ढल व्यवस्थापनको समस्या हल गर्ने लगायतका सुझाव र मागहरू प्रस्तुत गरे।
कार्यक्रममा नागरिक अभिमत तथा बहिर्गमन सर्वेक्षणको नतिजा संयोजक तेजेन्द्र घिमिरेले सार्वजनिक गरे भने कार्यक्रमको सहजीकरण दिलिप घिमिरेले गरेका थिए। वडा सदस्य नारायणप्रसाद रिजाल, पूर्णजंग चेम्जोङ, उमा माझी, निर्मला पौडेल बराईली र वडा सचिव कमला निरौलाले उठेका प्रश्नहरूको जवाफ दिए।












