विर्तामोड । नारी सञ्चार गृहद्वारा स्थापित ‘नारी सञ्चार साधना’ पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति (रासस)की जिल्ला संवाददाता अम्बिका भण्डारी सम्मानित हुनुभएको छ ।
आज विर्तामोडमा आयोजित एक समारोहमा नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्षसमेत रहनुभएकी भण्डारीलाई विर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईंले नगद रु एक लाखसहित पुरस्कार र सम्मानपत्र प्रदान गर्नुभएको हो ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष महेन्द्रकुमार गिरी, नेपाल पत्रकार महासङ्घ झापाका पूर्वअध्यक्ष केशव आचार्य लगायतलाई सम्मान गरिएको थियो ।
नवनिर्वाचित अध्यक्ष स्वस्तिका आचार्य नेतृत्वको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । सो कार्यक्रममा नारी सञ्चार गृह झापाको नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
नारी सञ्चारगृह झापा जिल्लामा सक्रिय पत्रकारितामा संलग्न महिला सञ्चारकर्मीको सङ्गठित संस्थाका रूपमा स्थापना भएर काम गर्दै आएको छ । संस्थाले महिला नेतृत्व, समावेशीता र सामाजिक न्यायमा आधारित पत्रकारिताको प्रवद्र्धन तथा पत्रकारको हकहितका पक्षमा गर्दै आइरहेको छ ।












