हुम्ला । कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्ला अब औपचारिकरूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ। खार्पुनाथ गाउँपालिका–५ स्थित च्वाखोला नदीमाथि निर्माण गरिएको बेलिब्रिज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेसँगै हुम्लाको दशकौँदेखिको सडक सपना पूरा भएको हो।

राष्ट्रिय गौरवको आयोजना कर्णाली करिडोर अन्तर्गत बाँकेको जमुनियादेखि हिल्सासम्मको ५१० किलोमिटर सडकले हुम्लालाई देशको उत्तर–दक्षिण सडक सञ्जालसँग जोडेको छ।

२०५६ सालमा शिलान्यास भएको यो आयोजना २६ वर्षपछि सम्पन्न भएको हो। सेनाले निर्माण गरेको १२३ किलोमिटरसहित हालसम्म कुल १४५ किलोमिटरमध्ये १३० किलोमिटर ट्र्याक खुलेको छ।

हिल्सा–सिमकोट खण्डको लागत मात्रै ४ अर्ब १० करोड रुपैयाँ रहेको छ। संघीय सरकारबाट ३ अर्ब २३ करोडभन्दा बढी बजेट विनियोजन गरिए पनि १ अर्ब १९ करोड रुपैयाँ फिर्ता गएको छ।

यस परियोजनाले हुम्लाका गाउँपालिका केन्द्रहरू र सदरमुकाम सिमकोटलाई सडक सञ्जालसँग जोड्न सफल भएको छ। अब हुम्लामा दैनिक बोलेरो जीप र मालवाहक ट्रक सञ्चालनमा छन्। योसँगै अब देशका ७७ वटै जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0