झापा । झापाको काँकरभिट्टाबाट हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगालको जलपाईगुडी जिल्ला, भक्तिनगर सेवक रोड, सिलिगुडी निवासी २५ वर्षीय प्रतिक अग्रवाल रहेका छन्।
आज बिहान ८:५० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले मेची भन्सार परिसरमा चेकजाँचको क्रममा अग्रवालले चलाएको डब्लुबी ७४ एजे ०४०० नम्बरको स्कुटरको डिक्कीबाट एयर पेस्तोलजस्तो देखिने एक हतियार फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी खगेन्द्र खड्काका अनुसार, अग्रवालको साथबाट सानो छालाको झोलामा राखिएको प्लास्टिकको पोकोभित्र १८ थान मेटल बुलेट र ४ थान मोबाइल फोनसमेत बरामद गरिएको छ।
हाल अग्रवाललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












