झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाई नगरपालिकामा आयोजित एक विशेष कार्यक्रममा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीहरूलाई जग्गाधनी प्रमाणपत्र (धनीपुर्जा) वितरण गर्नुभएको छ। भूमि समस्या समाधान आयोग, जिल्ला समिति झापाको आयोजनामा सम्पन्न कार्यक्रममा २०० जनालाई उक्त प्रमाणपत्र वितरण गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धनीपुर्जा पाउनुभएका परिवारप्रति बधाई ज्ञापन गर्दै यो कदमलाई सामाजिक न्याय र समावेशीतर्फको महत्वपूर्ण प्रगति भएको उल्लेख गर्नुभयो। “देशमा राजनीतिक स्थायित्व कायम गर्दै हामी जनताको जीवनस्तर उकास्न प्रयासरत छौँ,” प्रधानमन्त्रीले भन्नुभयो।

प्रधानमन्त्री ओलीले चाँडै भूमिसम्बन्धी विधेयक संसद्बाट पारित गर्ने तयारी रहेको जानकारी दिँदै, सबै किसिमका भूमि समस्याको समाधान गर्न सरकारले प्राथमिकता दिएको स्पष्ट पार्नुभयो। साथै, उहाँले प्राप्त जग्गाको व्यावसायिक उपयोग गरेर आत्मनिर्भरता र समृद्धिको मार्गतर्फ अघि बढ्नुपर्ने सुझाव दिनुभयो।

सो अवसरमा प्रधानमन्त्रीले गणतान्त्रिक व्यवस्थापछि शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा भएका उल्लेखनीय परिवर्तनहरूको चर्चा गर्दै देश विकासको गतिमा अगाडि बढिरहेको धारणा राख्नुभयो।

एक फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपाली कांग्रेससँगको सहकार्यबारे प्रस्ट पार्दै भन्नुभयो, “सभापति शेरबहादुर देउवालाई अर्को वर्ष सत्ता हस्तान्तरण गरिनेछ। आगामी निर्वाचनसम्म सहकार्य जारी रहनेछ।”

कार्यक्रममा भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले देशभरिका भूमिहीन, दलित र सुकुमबासीलाई पूर्वदेखि पश्चिमसम्म क्रमशः धनीपुर्जा वितरण गरिने जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0