झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको कनकाइ नगरपालिकाका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरेका छन् । भूमि समस्या समाधान आयोग, िजल्ला समितिद्वारा आयोजित कार्यक्रममा सो पालिकाका दुई सयलाई जग्गा धनीपूर्जा वितरण भएको हो ।
प्रधानमन्त्री ओलीले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जग्गा धनीपूर्जा पाउनु खुसीको कुरा भएको उल्लेख गर्दै अहिलेको सरकारले मुलुकमा स्थिरता कायम गर्दै जनताका समस्या समाधानमा ध्यान केन्द्रित गरेको बताए। उनले भूमिसम्बन्धी सबै समस्याको समाधानका लागि चाँडै पारित गरिने जनाए ।
‘यो सरकार ढल्छ ढल्छ भनेर कराउनेहरु कराउन । सरकारको एक वर्ष बित्यो । अर्को एक वर्ष म प्रधानमन्त्री हुन्छु । त्यसपछि हाम्रो सहमति बमोजिम नेपाली कांग्रेसका सभापति एवं मेरो लामो लोकतान्त्रिक आन्दोलनका सहयात्री शेरबहादुर देउवालाई हस्तान्तरण गरिनेछ । चुनावसम्म यो यात्रा जारी रहन्छ । म साथीहरूलाई ढुक्कले अघि बढ्न आग्रह गर्छु’, उनले भने । कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले पूर्वदेखि पश्चिम महाकालीसम्म भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई क्रमशः जग्गा धनीपूर्जा वितरण गरिने जानकारी दिए ।












