शिवसताक्षी । मिसियो म्युनिखको आर्थिक सहयोगमा र शिवसताक्षी नगरपालिकासँगको समन्वयमा सञ्चालित “सुरक्षित आप्रवासनमार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना” अन्तर्गत आज एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।
कारितास नेपालद्वारा सञ्चालन गरिएको कार्यक्रम शिवसताक्षी नगरपालिका–१ स्थित शुक्रबारे बजारमा सम्पन्न भएको हो। कार्यक्रममा फिर्ती आप्रवासी, सम्भावित आप्रवासी, आप्रवासीका परिवारका सदस्य तथा स्थानीय समुदायका प्रतिनिधिहरू गरी ६७ जना सहभागी थिए।
कार्यक्रममा वैदेशिक रोजगारीमा जानु पूर्व अपनाउनुपर्ने सावधानी, विदेशमा रहेर सुरक्षित रहनुपर्ने उपाय, फर्किएपछि स्वदेशमै पुनःस्थापन कसरी गर्न सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी दिइएको थियो। साथै, वैदेशिक रोजगार बोर्डले गरेको कानुनी व्यवस्था, कल्याणकारी कोष, सीप विकास तथा आत्मनिर्भर जीवनशैलीका विषयमा समेत सहभागीहरूलाई जानकारी प्रदान गरिएको थियो।
सो अवसरमा बोल्दै सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले भने, “सीप सिकेर दक्ष जनशक्ति बनेर मात्र वैदेशिक रोजगारमा जानुपर्छ। सकेसम्म स्वदेशमै आयामुखी कार्यमा लागौं भन्ने हाम्रो मुख्य सन्देश हो।”
कार्यक्रममा शुक्रबारे बजार व्यवस्थापन समितिका अध्यक्ष पेम्बा लामाको अध्यक्षता थियो भने वडा नं. १ का वडा सदस्य नारायण प्रसाद रिजाल प्रमुख अतिथि थिए। वडा स्तरीय परियोजना सल्लाहकार समितिका सदस्य कुमार शंकर, नारदमणी रिमाल, अन्य बुद्धिजीवी तथा समाजसेवीहरूको उपस्थिति कार्यक्रमलाई अझ सशक्त बनाएको थियो। कार्यक्रमको सहजीकरण शिवसताक्षी नगरपालिकाका रोजगार शाखा संयोजक विदुर तिम्सिनाले गर्नुभएको थियो।












