अर्जुनधारा।अर्जुनधारा नगरपालिकामा पहिलोपटक सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरिएको छ। नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले बुधवार आयोजना गरिएको विशेष समारोहमा ९६ जनालाई पुर्जा वितरण गर्दै सो कार्यक्रमको औपचारिक सुरुवात गर्नुभयो।

नगर प्रमुख गोम्देनले पुर्जा वितरण गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताउँदै भन्नुभयो, “निस्सा वितरण गर्दा धेरैले पुर्जा पाइएला र भन्दै अविश्वास प्रकट गर्नुभएको थियो । अहिले त्यो अविश्वास तोडिएको छ, हामी सफल भयौं ।” उहाँले अब निरन्तर रूपमा अव्यवस्थित बसोबासीहरूलाई पुर्जा वितरण गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा सभामुख देवराज घिमिरेले समेत सहभागिता जनाउँदै नगरपालिका–११ का १० जना ज्येष्ठ नागरिकलाई पुर्जा हस्तान्तरण गर्नुभयो। सभामुख घिमिरेले सम्बोधनका क्रममा संसद्मा विचाराधीन भूमिसम्बन्धी विधेयक चाँडै पारित हुने आशा व्यक्त गर्दै उक्त विधेयकले वर्षौँदेखि थाँती रहेका भूमिसम्बन्धी समस्याहरूको समाधान गर्ने विश्वास व्यक्त गर्नुभयो।

“धेरै सुकुम्बासीहरूले वर्षौँदेखि बसेको जग्गाको धनीपूर्जा पाएका छैनन्,” उहाँले भन्नुभयो, “कानुन निर्माणपछि त्यस्ता समस्याको समाधान हुन्छ ।” उहाँले वर्तमान भूमि आयोगको कामको प्रशंसा गर्दै अब सयौँ भूमिहीनलाई जग्गाको मालिक बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।

कार्यक्रममा नगर प्रमुख गोम्देनले नगरका विभिन्न जटिल समस्या सभामुख समक्ष राख्नुभएको थियो। उहाँले खोलामा नम्बरी, सेनाको अभ्यासस्थल, कम्पनीको नाममा रहेको जमिन र नयाँ बसपार्क क्षेत्रको जमिनसम्बन्धी समस्या समाधानको माग गर्नुभयो।

सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि मन्तव्य राख्दै वर्तमान सरकारले भूमिहीन र अव्यवस्थित बसोबासीलाई प्राथमिकतामा राखेर पुर्जा वितरण सुरु गरेको जानकारी दिनुभयो। “०२१ सालको भूमि ऐनले अहिलेको समस्या समाधान गर्न सक्दैन, त्यसैले नयाँ कानुन निर्माण गरेर समाधान गरेरै छाड्छौं,” मन्त्री अधिकारीले स्पष्ट पार्नुभयो।

धनीपूर्जा पाउनेहरूको अनुहारमा खुशी झल्किएको थियो। धेरै वर्षदेखि आशामा बसेका नागरिकहरूले आज आफ्नो सपनालाई मूर्तरूपमा देख्न पाएपछि आफूहरू हर्षित भएको प्रतिक्रिया दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0