झापा । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको न्यूनतम तलब बढेर १९ हजार ५५० रुपैयाँ पुगेको छ ।
सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो । सहमतिअनुसार उक्त पारिश्रमिकमध्ये आधारभूत पारिश्रमिकबापत १२ हजार १७० रुपैयाँ र महङ्गी भत्ताबापत ७ हजार ३८० रुपैयाँ रहेको छ ।
श्रमिकको तलब यसअघिको भन्दा २ हजार २५० रुपैयाँले बढी हो । यसअघि चिया बगानबाहेकका श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ थियो । यो पारिश्रमिक प्रतिघण्टाको ज्याला ८९ रुपैयाँ थियो भने आंशिक रूपमा काम गर्ने श्रमिकको भने प्रतिघण्टा ९५ रुपैयाँ न्यूनतम पारिश्रमिक थियो । नयाँ पारिश्रमिक साउन १ गतेदेखि नै लागू भएको छ । चिया बगानको हकमा भने सरोकार पक्षसँग थप छलफल गरेरपछि निर्धारण हुनेछ ।












