शिवसताक्षी । झापाको शिवसताक्षीमा निर्माणाधिन दुधे रंगशालामा आगामी कार्तिक महिनादेखि खेल सञ्चालनमा आउने भएको छ ।
नगरपालिकाको नगर गौरवको आयोजनाको रुपमा रहेको नगरस्तरीय दूधे रंगशालामा प्याराफिट निर्माणको काम अन्तिम चरणमा पुगेसँगै नगरपालिकाले खेल सञ्चालनको तयारी गरेको हो ।

प्याराफिटको काम सकेर उक्त रंगशालामा आगामी कार्तिक १५ गतेदेखि झापा महिला कपको तयारी सुरु गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । २०७४ सालमा मास्टर प्लाष्ट तयार गरेपछि नगरपालिका रंगशाला निर्माणमा जुटेको थियो ।
हाल खेल मैदानमा झार काट्ने काम पनि निरन्तर भइरहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरपालिकाले रंगाशालामा उद्घाटन खेलको रुपमा झापा महिला गोल्ड कपको खेलाउने भएको हो ।

६ विगाह १५ कठ्ठा जग्गाको क्षेत्रफलमा रहेको रंगशालाको कम्पाउण्ड, गेट यस अघि नै निर्माण भइसकेको थियो । स्थानीय खेलाडीहरुको अगुवाईमा मैदान सम्याएर सुरु गरिएको खेल मैदान तिनै तहको सरकार आएसँगै व्यवस्थित गर्न थालिएको खेल मैदान निर्माण उपभोक्ता समितिका अध्यक्ष भिम लिवाङ्गले बताए । उनले रंगशाला निर्माणका लागि पहिलो पल्ट संघीय सरकारबाट विनियोजित ४० लाखबाट घेराबाराको काम सुरु गरिएको जानकारी दिए । रंगशालामा फुटबल खेल साथै एथलेटिक्स र भलिबल कोड समेत निर्माण गर्ने योजना गरेको उनको भनाई छ ।

२०५२ सालमा खेल मैदानमा भवानी स्मृति गोल्ड कप पहिलो पल्ट सञ्चालन गरिएकोे तत्कालिन भवानी स्मृति गोल्ड कपका अध्यक्ष विरबल जवेगुले बताए । उनले भने, तत्कालिन अवस्थामा फुटबल खेल्नका लागि खेल मैदान थिएन । स्थानीय युवाहरुको सहयोगमा होली सम्याएर खेल मैदान निर्माण गरिएको थियो । त्यही बेला भवानी स्मृति गोल्ड कप पहिलो पल्ट खेलाइएको हो ।
शिवसताक्षी नगरपालिले रंगशाला निर्माणमा २ करोड ४६ लाख खर्च गरिसकेको छ भने, संघीय सरकारले रंगशालाको घेराबारा र गेट निर्माणका लागि १ करोड १० लाख खर्च गरेको छ । रंगशाला पूर्णरुपमा निर्माण भएपछि २५ हजार दर्शकले एकै पटक खेलको अवलोकन गर्न सक्नेछन् । हाल निर्माण भएको प्याराफिटमा करिब १५ सय दर्शकले खेलको अवलोकन गर्न पाउने छन् ।

गोल्डकपलाई सफलता पूर्वक सम्पन्न गर्न नगरपालिका र वडा कार्यालयहरुले बजेट व्यवस्थापन गरिएको नगरप्रमुख मेगाहाङ्ग थोप्राले बताए । उनले नगरले निर्माण गरेको रंगाशाला झापा महिला गोल्ड कप खेलाएर रंगशालाको उद्घाटन गर्ने योजना रहेको जानकारी दिए । गोल्ड कपका लागि नगर, वडाहरुबाट केही सहयोग रकम उपलब्ध हुनेछ भने, गोल्डकप सञ्चालन समितिले अन्य खर्चको व्यवस्था गर्ने नगर प्रमुख थोप्राले जानकारी दिए ।
रंगशाला झापाका स्थानीय तहहरु मध्येमा व्यवस्थित र सुविधा सम्पन्न बन्ने दावी गरिएको छ । शिवसताक्षी नगरपालिकाले अन्य क्षेत्र सँगै खेलकुदको क्षेत्रमा धेरै काम गरेको बताइएको छ ।












