शिवसताक्षी । गएरातिको वर्षापछि कन्काई माई नदीमा आएको बाढीले झापाको विभिन्न स्थानमा डुबानको स्थिति सिर्जना गरेको छ । शिवसताक्षी नगरपालिका वडा नं. ५ को भेलामुनी बस्ती कनकाई नदिको बाढी पसेपछि ५ घर ढुवानमा परेका छन् ।

कनकाईको बाढीबाट भेलामुनीका बोधनाथ बिमली, विपिन राई, बाङठु ताजपुरिया, खोजे ताजपुरिया र रेमेतुन राजवंशीको घरमा बाढी पसेको वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए । उनले बाढीका कारण ठूलो क्षति नभएपनि घरहरु डुवानमा परेका बताए ।

मैनाचुली जलमापन केन्द्रले दिएको पूर्व सूचनाका आधारमा कनकाई तटका मानिसहरुले खाद्य सामानहरुको सुरक्षित स्थानमा सारी सकेकाले खाद्यन्य क्षति हुन नपाएको वडाध्यक्ष पासवनाको भनाई छ । बाढीले वडाको निर्माण गरेको भेलामनी पर्यटकीय क्षेत्रमा रहेको कनकाई माई भगवतीको मन्दिर समेत जोखिममा परेको छ । भेलामुनीमा विहान ४ः३० बजे बाढी गाउँ पसेको थियो ।

वडाध्यक्षका अनुसार हाल डुवान परेको स्थानमा पानीको सतह घट्ने क्रम भए पनि नदि कटानको जोखिम बढेको छ ।
कनकाई नदिले शिवसताक्षीको वडा नं. ७ चन्द्रडाँगी पुर्व क्षेत्रमा पनि कटान सुरु गरेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्राले आषाढमा खडेरी परेपनि श्रावणमा पानी परेकाले किसानलाई राहत दिएको बताएका छन् । उनले वर्षात याम नदि, खोला किनारमा रहेको नागरिकहरुलाई सतर्क रहन आग्रह गरेका छन् । शिवसताक्षीमा बर्षेनी कनकाई, सतासी, दूधे र कमल बनियानी लगायतका खोला कटानबाट नागरिकको धन जनको क्षति हुँदै आएको बताए । नगरप्रमुखका अनुसार नागरिकलाई विपतबाट जोगाउन शिवसताक्षी नगरपालिकाको विपत व्यवस्थापन समिति, नगर प्रहरी, इलाका प्रहरी कार्यालय झिलझिलेलाई तयारी अवस्थामा राखिएको छ ।

त्यस्तै झापा गाउँपालिका–२ स्थित सुगाबथान र कुवारी बजार बाढीले डुबानमा परेको छ । बाढी सुगाबथानका जेठा टुडू, ताला सोरेन, लिलमुनि टुडू, मण्डल टुडू, सुकदेव टुडू, साएकला टुडू र साइबा टुडूका घरमा पसेको हो । पीडित घरपरिवारका बासस्थानमा करिब डेढदेखि दुई फिटसम्म पानी जमेको जनाइएको छ। कुवारी बजार क्षेत्र पनि जलमग्न बनेको छ।

स्थानीय प्रशासन तथा विपद् व्यवस्थापन समिति डुबान क्षेत्रको स्थलगत निरीक्षण गरेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0