काठमाडौँ । देशभर हालसम्म करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले कम हो ।
मन्त्रालयका अनुसार करिब १० लाख हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भइसकेको छ । कुल १४ लाख हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सकिएको छ ।
बागमती प्रदेशमा ८७ प्रतिशत रोपाइँ सम्पन्न भई १ लाख ५ हजार हेक्टरमा रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिनुभयो । तराई क्षेत्रमा कुल धान उत्पादनको ७० प्रतिशत योगदान हुने भएकाले यो क्षेत्र उत्पादनका हिसाबले महत्वपूर्ण मानिन्छ ।
आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार मेट्रिकटन धान उत्पादन भएको थियो भने यो वर्ष करिब ६० लाख मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको छ । यसबाट ३५ लाख मेट्रिकटन खानयोग्य चामल उत्पादन हुने अपेक्षा गरिएको छ ।
मौसमी प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि वा अनावृष्टिका कारण कतिपय क्षेत्रमा रोपाइँ ढिलो भएको भए पनि साउनको अन्तिमसम्म ९८ प्रतिशत रोपाइँ पुग्ने अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।












