झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ३ र वडा नम्बर ८ ले आगामी शैक्षिक सत्रदेखि आफ्ना वडामा रहेका सामुदायिक विद्यालयका पूर्वप्राथमिक तहका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने भएका छन्।
आर्थिक रूपले कमजोर वर्गका बालबालिकालाई शिक्षामा पहुँच बढाउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको यो कार्यक्रमले सामुदायिक विद्यालयतर्फको आकर्षणसमेत बढाउने विश्वास गरिएको छ।
वडा नं। ८ का अध्यक्ष सन्तकुमार फेउदिनका अनुसार झिलझिले, भगवती, अरुणोदय र सरस्वती विद्यालयका अङ्ग्रेजी माध्यमका विद्यार्थीहरूलाई वडा कार्यालयबाट पाठ्यपुस्तक दिइनेछ। वडा नं. ३ का अध्यक्ष भास्कर न्यौपानेले पनि भानु, शान्ति र पाथिभरा विद्यालयका विद्यार्थीलाई यो सुविधा दिने जानकारी दिए। कार्यक्रमका लागि प्रारम्भिक चरणमा ६० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
स्थानीय तहका यस्ता उत्पादनमूलक प्रयासप्रति सामाजिक सञ्जालमा व्यापक सराहना भइरहेको छ। अन्य वडाहरूले पनि यस्ता अभ्यास अनुकरण गर्नुपर्ने माग नागरिकहरूबाट गरिएको छ।