शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाबाट नगरका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरिएको छ ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, शिवसताक्षी नगरपालिका र करुणा फाउण्डेशनको सझादारीमा सञ्चालित अपाङ्गता रोकथाम कार्यक्रम अन्तर्गतका उक्त सामाग्री वितरण गरिएको हो ।
आज नगरपालिका कार्यालयबाट ४० जना अपाङ्गगता भएका व्यक्तिहरुलाई हुइलचियर, सिपी हुइल चियर र ट्राइसाइकल वितरण गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।
सहायक सामाग्री वितरणका क्रममा शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्राले अपाङ्गता भएका व्यक्तिहरुको जीवनमा सहजता प्रदान गर्न सहायक सामाग्री वितरण गरिएको बताए । उनले अपाङ्गता भएका नागरिकहरुलाई उपलब्ध गराइएका सामाग्रीहरुले ठुलो सहयोग नपुगेपनि दैनिक जीवनका लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको बताए ।
नगरपालिकाले विभिन्न समय अपाङ्गता भएका व्यक्तिहरुले गर्न सक्ने खालका सीप मुलक तालिमहरु पनि सञ्चालन गर्दै आएको उहाँको भनाई थियो ।

अपाङ्गता रोकथाम कार्यक्रम अन्तर्गत श्रावण महिना भित्रमा २४० जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गर्ने करुणा फाउण्डेसनले जनाएको छ । कार्यक्रमका फोकल पर्सन सन्दिप निरौलाका अनुसार अपाङ्गता भएका व्यक्तिहरुलाई २२ लाख ६० हजार बराबरको सामाग्री वितरण गर्न लागिएको हो ।
पालिका कोअर्डिनेटर सुरेन्द्र गिरीले हुइल नियर लगायतका सामाग्रीहरु प्रयोग गर्ने विधीको बारेमा जानकारी गराएका थिए ।
शिवसताक्षी नगरपालिकाकी उपप्रमुख तथा अपाङ्गता रोकथाम कार्यक्रमकी संयोजक नरमाया कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिवसताक्षी नगरपालिकाका प्रशासन प्रमुख डिल्ली नेपालले गरेका थिए ।












