झापा । नेपालको धान भण्डारका रूपमा चिनिने मधेस प्रदेशमा यस वर्ष मनसुन प्रतिकूल भएपछि धान रोपाइँ गम्भीररूपमा प्रभावित भएको छ। असार महिनासम्म ८० प्रतिशतभन्दा बढी रोपाइँ हुने मधेसमा हालसम्म जम्मा ४७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको सरकारी तथ्याङ्कले देखाउँछ।
प्रदेश सरकारको सिफारिसमा संघीय मन्त्रिपरिषद्ले मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ। कृषि विज्ञहरू र सरोकारवालाहरूले यो अवस्थाले धान उत्पादनमा १५ देखि २० प्रतिशतसम्म ह्रास ल्याउने चेतावनी दिएका छन्।
सिँचाइ अभाव र कमजोर मनसुन मुख्य चुनौती
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मधेसका प्रवक्ता डा. सरोज चौधरीका अनुसार वर्षा नहुँदा रोपिएको धान सुक्न थालेको छ भने कतिपय ठाउँमा बीउ नै डढेको छ। “अहिलेका फाँटहरू सुक्खा देखिन्छन्। आधा प्रतिशत पनि रोपाइँ सकिएको छैन,” डा. चौधरीले बताए।
धान अनुसन्धान कार्यक्रमका संयोजक डा. मथुरा यादवले साउन २२ गतेसम्म पर्याप्त वर्षा नभएमा २० प्रतिशतसम्म उत्पादनमा गिरावट आउन सक्ने बताए। कृषि विज्ञ डा. डिल्लीराम शर्माले “सिँचाइ र वर्षा दुबै अभावमा बीउ छिप्पिनु र रोपाइँ ढिलो हुनुले उत्पादनमा सीधा असर पार्ने” बताए।
मनसुन कमजोर, वर्षा औसतभन्दा निकै कम
जल तथा मौसम विज्ञान विभागको अनुसार मनसुन अवधिमा मुलुकभर औसत १,४०० मिमी वर्षा हुने भए तापनि हालसम्म ३४.९ प्रतिशत मात्र वर्षा भएको छ। जनकपुर जस्ता प्रमुख क्षेत्रहरूमा त औसतको २० प्रतिशत मात्र पानी परेको छ।
सिँचाइ संरचनाको अभाव चिरपरिचित समस्या
मधेसमा कुल खेतीयोग्य जमिनमध्ये ४९ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा छ। कतिपय नहरहरूबाट हाल पानी नै नपाइने स्थिति छ। भू-गर्भीय सिँचाइ (स्यालो तथा डिप ट्युबवेल) मा अत्यधिक निर्भरता र कमजोर व्यवस्थापनले सिँचाइको प्रभावकारिता घटाएको विज्ञहरूको टिप्पणी छ।
जलस्रोत तथा सिँचाइ विभागका अनुसार देशभर २५ लाख ३० हजार हेक्टर सिँचायोग्य जमिनमध्ये केवल एक तिहाइ भूभागमा वर्षभर सिँचाइ सुविधा उपलब्ध छ।
केन्दीय अनुगमन टोली सक्रिय
सिंचाइ समस्या र धान रोपाइँमा देखिएको असरको मूल्याङ्कन गर्न कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल नेतृत्वको टोली मधेस प्रदेशमा स्थलगत निरीक्षणमा खटिएको छ। प्रारम्भिक प्रतिवेदन अनुसार सुक्खा समस्या समाधानका लागि सतही सिँचाइको मर्मत, भूमिगत सिँचाइ सुधार, सुक्खा सहने जातको प्रवर्द्धन र वैकल्पिक बालीको अनुसन्धान आवश्यक देखिएको छ।
विगतको तुलनामा प्रगति भए तापनि भविष्यमा जोखिम
गत वर्षको तुलनामा मधेस प्रदेशमा १०.७ प्रतिशतले धान उत्पादन बढेको भए पनि चालु वर्षको सुक्खाले यो प्रगति उल्टिन सक्ने संकेत देखिएको छ। वर्ष २०८१ मा मधेसमा कुल १४ लाख ८० हजार ८३० मेट्रिक टन धान उत्पादन भएको थियो।












