बिर्तामोड । झापाका अग्रज पत्रकार गञ्जबहादुर दाहालले आफ्ना पाँच दशक लामो पत्रकारिता यात्राका अनुभव र प्रेरणादायी प्रसंगहरु नयाँ पुस्तासँग साझा गरेका छन् ।
प्रेस चौतारी नेपाल, झापा शाखाले आयोजना गर्दै आएको ‘अग्रजलाई सुनौं’ कार्यक्रमको दोश्रो श्रृंखलामा दाहाल मुख्य वक्ताको रुपमा उपस्थित भएका थिए । यसअघि पहिलो श्रृंखलामा पत्रकार शिरोमणि खतिवडा (शिरो सान्दाइ) प्रमुख वक्ता रहेका थिए ।
कार्यक्रममा दाहालले पत्रकारितामा प्रवेशदेखि लिएर आजसम्मको यात्राबारे खुलेर अनुभव सुनाए । लेटर प्रेसबाट पत्रकारिता सुरु गरेका उनले पत्रकारितालाई निष्ठा, निरन्तरता र परिश्रमको पेशा भन्दै वर्तमान पुस्तालाई पुराना शैली त्यागेर नयाँ सोचसहित लाग्न आग्रह गरे ।
“पहिला काम गर्दै जाँदा पत्रकारिताको मर्म थाहा पाइयो,” दाहालले सुनाए, “पत्रकार नबनेको भए म शिक्षक वा बैंक कर्मचारी हुने थिएँ ।” शिक्षण पेशाबाट मासिक १२५ रुपैयाँ पारिश्रमिक लिएका उनले पत्रकारिताबाटै सामाजिक प्रतिष्ठा र आर्थिक उन्नति हासिल गरेको बताए ।
दाहाल हाल दमकबाट प्रकाशन हुने पूर्वसन्देश दैनिक का सम्पादक तथा प्रकाशक हुन् । उनले पत्रकारितामा निरन्तरता नै सफलता प्राप्तिको मुख्य सन्देश रहेको बताउँदै भने, “आज पनि मेरो पहिलो प्राथमिकता पत्रिकाकै काम हो ।”
हालका पत्रकारहरुको लेखनमा प्रभाव कम भएको धारणा राख्दै उनले विगतमा साना समाचारले पनि ठूलो असर पार्ने उल्लेख गरे । छापा पत्रकारिता सकिएको भन्ने मतसँग असहमति जनाउँदै उनले विज्ञापन र ग्राहक शुल्कमार्फत अझै पनि यसको सम्भावना रहेको बताए ।
०६२/६३ को जनआन्दोलनकालीन अवस्थालाई स्मरण गर्दै उनले त्यसबेलाको समाचार लेखन चुनौतीपूर्ण रहेको प्रसंग सुनाए । उनले दुई पटक प्रहरीद्वारा पत्रिका र छापाखानामा छापा मारिए पनि काम नरोकेको अनुभव बाँडे ।
“पत्रिकामा जनताको विश्वास अझै बाँकी छ, खोज पत्रकारितामा लाग्न आजका पत्रकारहरुलाई आग्रह गर्न चाहन्छु,” उनले जोड दिए ।
कार्यक्रममा सहभागी नयाँ तथा पुराना पत्रकारहरुले दाहालसँग विभिन्न जिज्ञासा राखेका थिए । उनले सबै प्रश्नहरुको सहज ढंगमा उत्तर दिएका थिए ।
कार्यक्रमको अध्यक्षता प्रेस चौतारी झापा अध्यक्ष प्रदिप परियारले गरेका थिए । प्रमुख अतिथि प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्ले थिए । अन्य अतिथिहरुमा केन्द्रीय सदस्य माधव विद्रोही, सावित्रा दाहाल, शम्भु दाहाल, फाँट इञ्चार्ज मनकुमार गदाल, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, झापा उपाध्यक्ष सुब्रत न्यौपाने लगायतको उपस्थिति थियो ।
कार्यक्रम सञ्चालन चौतारी झापाका सहसचिव तिलक योञ्जनले गरेका थिए भने स्वागत उपाध्यक्ष राजु पोखरेलले गरेका थिए ।
कार्यक्रम प्रभावकारी र प्रेरणादायी भएको सहभागीहरुको प्रतिक्रिया थियो । अध्यक्ष परियारले अग्रज पत्रकारका अनुभव नयाँ पुस्ताका लागि मार्गदर्शक हुने भएकाले हरेक तीन महिनामा ‘अग्रजलाई सुनौं’ कार्यक्रमलाई नियमितरूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।












