बिर्तामोड, झापा । डिभिजन वन कार्यालय झापाले आर्थिक वर्ष ०८१/८२ मा ५२ लाख रुपैयाँ बराबरको २ लाख ४० हजार विरुवा उत्पादन गरी निशुल्क वितरण गरेको छ।
लटहर, अर्जुन, तेजपात, बाँस, टिक, कदम, गुल्मोहर, अमला लगायतका विरुवा उत्पादन गरिएको कार्यालयले जनाएको छ।
सूचना अधिकारी अमृत बहादुर लिम्बुका अनुसार शहरी क्षेत्रमा सौन्दर्य तथा अन्य क्षेत्रमा व्यवसायिक प्रयोजनका लागि विरुवाको माग बढ्दो छ। कार्यालय प्रमुख भरतबाबु श्रेष्ठले विरुवा अभाव भएका गौरीगञ्ज, कमल, गौरादह जस्ता क्षेत्रहरूमा समेत अभियान सञ्चालन भइरहेको जानकारी दिए।
सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारीले माग अनुसारको विरुवा उपलब्ध भैरहेको बताए। चुरे उत्थानशील परियोजना तथा सशस्त्र वन सुरक्षा शाखाको सहयोगमा वन संरक्षण, अतिक्रमण नियन्त्रण, तालिम गोष्ठी, वृक्षारोपण लगायतका कार्यहरू भइरहेको कार्यालयले जनाएको छ।












