शिवसताक्षी ।  “मानव बेचबिखन एक संगठित अपराध हो, शोषणको अन्त्य गरौं” भन्ने मूल नारासहित झापाको शिवसताक्षी नगरपालिका–८ मा मानव बेचबिखनविरुद्धको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

मिसियो म्युनिखको आर्थिक सहयोग तथा शिवसताक्षी नगरपालिकाको समन्वयमा, कारितास नेपालद्वारा सञ्चालित सुरक्षित आप्रवासन मार्फत मानव बेचबिखन विरुद्धको सबलीकरण परियोजना अन्तर्गत छिमेकी बचत तथा ऋण सहकारी संस्था भवनमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रम विश्व मानव बेचबिखनविरुद्धको दिवस (जुलाई ३०) को सन्दर्भमा गरिएको थियो।

कार्यक्रममा सेभेन सिज पब्लिक स्कुल, झिलझिले माध्यमिक विद्यालय, संस्कार मण्टेस्वरी, पशुपति एकेडेमी, सन्देश युथ फाउन्डेसन, शिवशक्ति, फूलबारी, पाथिभरा आमा समूह लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विद्यार्थी, शिक्षक, कर्मचारी, बुद्धिजीवी, समाजसेवी तथा नागरिक समाजका अगुवाहरु गरी १२५ जना बढीको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम कारितास नेपाल प्रादेशिक कार्यालय दमककी सहायक कार्यक्रम अधिकृत सन्तोषी थन्दारको अध्यक्षता र नगरप्रमुख मेघाङ थोप्राको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

नगरप्रमुख थोप्राले कार्यक्रमलाई सम्बोधन गर्दै मानव बेचबिखनलाई एक जघन्य तथा संगठित अपराधका रूपमा चिनाउँदै यसबारे समुदायमा गहिरो चेतना आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “मानव बेचबिखन विरुद्धको लडाइँ सबैको साझा दायित्व हो। सुरक्षित, सभ्य र सुखी समाज निर्माणका लागि प्रत्येक नागरिक सचेत र जिम्मेवार बन्न जरुरी छ।”

विशिष्ट अतिथिको रूपमा वडा नं. ८ का अध्यक्ष सन्त कुमार फेवादिन, झिलझिले माविका सञ्चालक समिति अध्यक्ष तथा राजनीतिज्ञ परशुराम ढुङ्गाना, वडा सदस्य रिता लामा, छिमेकी सहकारीका कार्यवाहक अध्यक्ष उदय प्रकाश राई, व्यवस्थापक नवीन ओली र इलाका प्रहरी कार्यालय झिलझिलेका वरिष्ठ प्रहरी नायब निरीक्षक लीलाबहादुर थापाको उपस्थिति रह्यो।

कार्यक्रममा मानव बेचबिखनको परिभाषा, वर्तमान अवस्था, जोखिम पहिचान र रोकथाम उपायहरूबारे जानकारीमूलक प्रस्तुति गरिएको थियो। सहजीकरण इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक किशोर घिमिरे र प्रहरी सहायक निरीक्षक दुर्गा दाहालले गर्नुभएको थियो।

सामाजिक परिचालक चिरञ्जीवी लुइटेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने कारितास नेपालका वरिष्ठ कार्यक्रम अधिकृत हिमालयन अधिकारीले स्वागत मन्तव्य र प्रादेशिक प्रमुख शंकर कुमार पौडेलले मन्तव्य राख्नुभएको थियो।

कार्यक्रमका अतिथि वक्ताहरूले पनि मानव बेचबिखनविरुद्धको सचेतना फैलाउने, जोखिम अवस्था देखिएमा तुरुन्त प्रहरी वा सम्बन्धित निकायमा जानकारी गराउने जस्ता कुरामा जोड दिएका थिए।

सामाजिक उत्तरदायित्व र आपसी समन्वयको उदाहरणीय मिसाल बनेको यस कार्यक्रमले स्थानीयस्तरमै मानव बेचबिखनविरुद्धको अभियानलाई सशक्त बनाएको सहभागीहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0